एसियाली खेलकुदका लागि क्रिकेट टोलीको घोषणा, भण्डारी, बोहरा र यादवको लामो समयपछि टोलीमा पुनरागमन

कैलाली । १९ औं एसियन खेलकुदका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको नामावली घोषणा गरेको छ । जसमा राष्ट्रिय टोलीबाट लामो समयदेखि बाहिर रहेका विनोद भण्डारी, अविनाश बोहोरा र विवेक कुमार यादवले टोलीमा पुनरागमन गरेका छन् ।

क्यानले आज १५ जनाको नामावली घोषणा गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)मा बुझाइ सकेको जनाएको छ ।

टी २० फर्म्याटमा हुने खेलका लागि विवेकले १४ महिनापछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । भने विनोद भण्डारी र अविनाश बोहोराले पनि एकदिवसीय फर्म्याटका खेलमा टोली बाहिर नै रहेका थिए । भण्डारी नेपाली टोलीका एक मात्र उत्कृष्ट विकेट किपर ब्याट्सम्यान हुन भने बोहरा टोलीका एक मात्र योर्कर बलर हुन तर उनले लामो समय टोलीमा पुनरागमन गर्न सकेनन् ।

हाल टोलीमा रहेका अनुभवी ब्याट्सम्यान पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, विकेट किपर ब्याट्सम्यान अर्जुन साउद, टोलीका महत्वपूर्ण खम्बा भीम सार्की, देव खनाल, पवन सर्राफ, किशोर महतो, श्याम ढकाल, मध्यम क्रमका ब्याट्सम्यान आरिफ शेख र सूर्य तामाङ एसियाली खेलकुदको टोलीमा परेका छैनन् ।

एसियनका लागि क्रिकेट टोली रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, करण केसी, अविनाश बोहोरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेक कुमार यादव, प्रतिस जिसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी

Share