कैलाली । नागरिक उन्मुक्ति पार्टीले सहमति अनुसार सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रालयको भागबन्डा नमिलेको भन्दै प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको जनाएको छ ।
आज पार्टीले मुख्यमन्त्रीलाई लेखेको सम्बोधन पत्र सार्वजनिक गर्दै गठबन्धनमा सहमति भए बमोजिम मन्त्रालयको बाँडफाँड नभएसम्म सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने जनाएको हाे ।
सम्बोधन पत्रमा, ‘केन्द्रको निर्णय र सहमतिअनुसार सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रालयको भागबन्डा नमिलेकोले सहभागी नहुनेु जनाइएकाे छ ।’
नागरिक उन्मुक्ति पार्टीले बेला बखत आफ्नो स्वार्थका कारण सरकारलाई समर्थन गर्ने र फिर्ता लिने प्रवृत्तिले सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी सम्मिलित प्रदेश सरकार गठन भएको थियो ।
संविधानबमोजिम एक महिनाभित्र विश्वासको मत पाउन नसकेपछि रावल मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए । सरकार गठन गर्दा सहयोग गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत लिने समयमा भने असहयोग गर्दा रावल पदमुक्त भएका थिए ।
त्यसपछि प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
फेरिएको राजनीतिक समीकरणसँगै शाहलाई नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी) को समर्थन रहेको छ । संविधान बमोजिम एक महिनाभित्र प्रदेश सभाबाट शाहले सजिलैसँग विश्वासको मत पनि पाएका थिए ।
पुनः एक पटक नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने जनाएको छ । जसले गर्दा उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिए सरकार गठनमा कानुनी बाधा अड्चन आउने छ । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सभामा निर्णायक शक्तिको रूपमा रहेको छ ।














