कैलाली । श्रीलङ्कामा आइतबार मात्रै सम्पन्न एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न गएको नेपाली राष्ट्रिय क्रिकेट टोली हाल पनि सोही ठाउँमा नै रहेको छ । नेपाली टोली एसिया कपको तयारीका लागि श्रीलंकामै बसेको हो। एसिया कप पाकिस्तान र श्रीलङ्कामा हुने भएकाले सोही ठाउँको मैदान र हावापानीमा आफूहरूलाई अनुकूलित पार्न त्यही रहेको हो।
इमर्जिङ कपमा आइतबार मात्रै सम्पन्न भएको छ । जसको उपाधि पाकिस्तानले जितेको छ । नेपाल समूह चरणबाटै बाहिरिएको थियो । उसले भारत र पाकिस्तानको ‘ए’ टोलीसँग नराम्रोसँग पराजय बेहोर्दा युएईको ‘ए’ टोलीलाई भन्ने पराजित गरेको थियो।
अब नेपाली टोलीले श्रीलङ्कामा १५ दिनको विशेष प्रशिक्षण गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
एसीसी इमर्जिङ टिम्स कप खेलेको टोलीमा तीन खेलाडी थप गर्दै नेपालले तयारी गर्ने भएको छ। इमर्जिङ टिम्स कपका लागि आराम दिइएका महत्वपूर्ण सदस्य करण केसी, अनुभवी खेलाडी पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र मध्यम क्रममा महत्वपूर्ण सदस्य युवा ब्याट्सम्यान आरिफ शेखलाई टोलीमा समावेश गरिएको हो।
हाल क्यानडामा ग्लोबल टी २० खेलिरहेका पूर्व उपकप्तान तथा महत्वपूर्ण सदस्य दिपेन्द्रसिंह ऐरी र युवा स्टार लेग स्पिनर पूर्व कप्तान सन्दीप लामिछाने पनि एसिया कपको टोलीमा समावेश हुने छन्।
त्यसकारण इमर्जिङ कप खेलको टोली केही फेरबदल गर्दै एसिया कपका लागि अन्तिम टोली घोषणा हुनेछ।
एक पछि अर्को प्रतियोगिता गर्दै व्यस्त भएको नेपाली टोली इमर्जिङ टिम्स पछि एसिया कप खेल्दैछ। पहिलो पटक एसिया कप खेल्न लागेको नेपाल समूह ‘ए’ मा रहेको छ। उक्त समूहमा नेपालसँगै उपाधि दाबेदार मानिएला टोली भारत र पाकिस्तान रहेका छन्।
भारत र पाकिस्तानको राजनीति किचलोका कारण यस पटकको एसिया कप दुई देशमा हुन लागेको हो । एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू भने श्रीलङ्कामा नै हुने भएका छन् । भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि खेल श्रीलङ्कामा हुन लागेका हुन् ।
यसका कारण नेपालले एसिया कपको समूह चरणका खेल दुई देशमा खेल्न पर्ने भएको छ।
समूहको पहिलो खेल नेपालले अगस्ट ३० मा (भदौ १३) पाकिस्तानसँग खेल्नेछ। पाकिस्तानको मुल्तानमा यो खेल प्रतियोगिताको उद्घाटन खेल समेत हो। एसिया कपको समूह चरणको दोस्रो खेल खेल्न भने नेपालले पाकिस्तानबाट श्रीलंका पुग्न पर्नेछ । नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलङ्कामा खेल्नेछ।
तीन/तीन टोलीको समूहबाट शीर्ष दुई/दुई टोली गरी चार टोलीले सुपर फोर खेल्नेछन्। सुपर फोर पछि एसिया कपको फाइनल सेप्टेम्बर १७ (भदौ ३१) हुनेछ।
एसिया कप पछि चीनमा हुने छ नेपाली क्रिकेट टोली
केही समय यता देखि निकै व्यस्त रहेको राष्ट्रिय क्रिकेट टोलीका लागि यो निकै खुसीको कुरा पनि हो एकपछि अर्को प्रतियोगिता खेल्न पाउनु । एसिया कप सिद्धिए लगत्तै नेपालले चीनमा हुने १९ औं एसियन खेलमा सहभागिता जनाउँदैछ।
टी २० फर्म्याटमा हुने एसियन गेम्सको क्रिकेटको प्रतिस्पर्धा एसिया कप सकिएको दुई दिनपछि सुरु हुनेछ। आयोजकका अनुसार सुरुमा महिलातर्फको प्रतिस्पर्धा सेप्टेम्बर १९ देखि सुरु हुने छ । महिलामा नेपालले पनि भाग लिँदैछ।
महिलाको फाइनल पछि पुरुषको प्रतिस्पर्धा सुरु हुनेछ। महिलाका खेल २६ सेप्टेम्बरमा सकिएपछि एसियन गेम्स पुरुषका खेल २८ सेप्टेबर (असोज १२) मा सुरु हुनेछन।
एसियाली गेम्सका अनुसार अहिलेसम्म पुरुष क्रिकेटमा १८ टोलीले भाग लिँदैछन्। पुरुष क्रिकेटमा वरीयताका अनुसार प्रतिस्पर्धा हुनेछ।
शीर्ष चार वरीयताका टोलीलाई सिधै क्वाटरफाइनमा स्थान दिइएको छ। अहिलेको वरीयताका अनुसार भारत, पाकिस्तान, श्रीलंका र बङ्गलादेशले अन्तिम आठमा स्थान बनाइसकेका छन्। नेपालले पहिलो राउन्डदेखि नै प्रतिस्पर्धा गर्नु पर्नेछ।












