कैलाली । आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । देशभर रोपाइँ लगायत विभिन्न कार्यक्रम गरि मनाइएको छ । ‘जलवायु अनुकुलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस राष्ट्रिय चाडका रूपमा किसान देखि नेता कार्यकर्ता सबैले मनाएका छन् । खास गरि किसानका लागि विशेष दिन असार १५ । असार १५ लाई दही चिउरा खाने दिनको रूपमा पनि लिने गरिन्छ । ‘मुरी रोपेर मानो फकाउने’ किसानका लागि आजको दिन विशेष मानिन्छ । असारे महिनाको मुसल धारे झरी अनि खहरे खोला पार गर्दै खेतमा धानको बीउ रोप्ने किसान असारको महिना जहिले खेतबारीमा मात्र देखिन्छन् । मुसल धारे झरी पर्दा सबै भिज्ने डरले भित्र बस्छन् भने ती किसानहरू भिज्दै रोपाइँ गर्दै आफ्नो खुसियाली साटासाट गर्दछन् । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपूँ छुपूँ हिलोमा धान रोपिन्छ । ‘छुपूँ र छुपूँ हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
असारमा किसानले सम्झिने दैवज्ञराज न्यौपानेद्वारा सृजित एउटा कविता मानसपटलमा छ ।
“किसानको रहर”
सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान
बिहान पख झुल्किन्छ घाम देउराली पाखामा
असारे गीत घन्किन्छ अनि सुरिलो भाकामा
काँधको शोभा हलो र जुवा हातमा कोदाली
जीवन धान्नु गर्नु नै पर्ने उकाली ओराली
छुपूँ र छुपूँ हिलोमा धान रोपेर छोडौँला
बनाई कुलो लगाई पानी आएर गोडौँला
भनेर सानी पटुकी रातो बाँधेर झरेकी
धमिलो खोला बाढीले होला कसरी तरेकी ?
गालामा साना पसिना दाना मोती झैँ खुलेकी
घाम र पानी भोक र तिर्खा कसरी भुलेकी
सुसेली हाली बयेली खेल्छ बतास रातमा
जूनले पोख्छ शीतका थोपा धानका पातमा
सुनौला बाला झुलेर होला भुईँलाई छोएको
फलेको हाँगो कहिले छ र ननुही रहेको ?
हिमाल हाँस्छ मिलाई सेता दाँतका लहर
किसान बनी जहान पाल्ने यो मेरो रहर ।
वास्तवमा कविले भने झैँ नै यो असारमा किसानहरू आफ्नो दिनचर्या बिताइ रहेका हुन्छन् ।
गर्मीको यो समयमा युवा ‘लाठे’ र युवती ‘रोपाहार’ ले खेतका गह्राको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने गर्छन् । असारमा एक पटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रही आएको छ । औपचारिक रूपमा सरकारले निर्णय गरेर धान दिवस घोषणा गर्नु अघि नै नेपालमा असार १५ गते दही चिउरा खाने संस्कृति प्राचीन कालदेखि नै रहि आएको धर्मशास्त्रविद् बताउँछन् ।
रोपाइ महोत्सव
खासमा असर १५ अर्थात् धान दिवस किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले २०६२ असर १५ गते देखि कृषि तथा सहकारी मन्त्रालयले देशभर असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन सुरु गरेको थियो । यस दिनमा कृषि क्षेत्रसँग सम्बन्धित संघ संस्थाले विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन् । यस दिनलाई रोपाइँ महोत्सवका रूपमा समेत मनाउने गरिन्छ । मानो रोपेर मुरी फलाउने दिनका रूपमा यस दिन अधिकांश स्थानमा रोपाइँ गरी धान दिवस मनाउने गरिन्छ । खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा ऊर्जा दिने भएकाले दही चिउरा खाने चलन रहेको विज्ञहरू बताउँछन् ।
किसानलाई रोपाइँको चिन्ता, नेताको अर्कै धन्दा
आज धान दिवसको अवसर पारी विभिन्न राजनीतिक दलका शीर्ष नेता देखि पार्टीका कार्यकर्ता सम्मले खेतमा गएर ‘रोपाइँ’ गर्न भ्याए । वर्ष भरी किसानका पीर मर्का नबुझ्ने नेता तथा कार्यकर्ता आज एक दिन किसानसँगै खेतबारीमा पुगे । तर रोपाइँ गर्न भन्दा पनि स्टन बाजी गर्न र तस्बिर खिचेर सामाजिक सञ्जाल रङ्ग्याउन, अनि आफ्नो पार्टी तथा नेताको हाई हाई पाउन खेतमा परेका थिए उनीहरू।
किसानले मलका लागि रोई कराई गर्दा समेत वर्ष दिन सम्म कुनै चासो नदिनेहरू आज एक दिन खेतमा पुगेर ‘रोपाइँ’ गरे । हरेक वर्षझैं विभिन्न जिल्लामा नेता कार्यकर्ताले ‘रोपाइँ’ गर्न भ्याए । विशेष गरेर आज चितवन रोपाइँ मय जिल्ला भयो । त्यहाँ भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल साथै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि हतास गर्दै ‘रोपाइँ’ मा सरिक भए ।


तस्बिर : दाहालको फेसबुक


तस्बिर : नेपाल प्रेस

तस्बिर : सेतो पाटी
खेतमा रोपाइँ गर्नु आम किसानका लागि सामान्य विषय हो । तर वर्षमा एक दिन असार १५ मा ‘रोपाइँ’ भन्दै तस्बिर वा भिडियो बनाएर रमिता गर्नेहरूको लर्को देख्दा लाग्छ कास देशैभरका नेता कार्यकर्ता असारको महिना भरिनै खेतमा हुँदा हुन त कृषि प्रधान देशमा कृषको महत्व उच्च हुँदो हो । सुरक्षाकर्मीसंगै ‘रोपाइँ’ गर्न झकिझकाउ पहिरनमा खेतमा पुगेकी प्रमुख दाहालले पनि कृषिमै बढी केन्द्रित भएको भन्न सम्म भ्याइन् । सयौँको मात्रामा नेता कार्यकर्ता रोपाइँमा सहभागी हुँदा हुलमुलमा पार्टीको नेताको प्रचार गर्न बाहेक अन्य कुनै औचित्य देखिएन् ।
आज नेपाल कृषि अनुसन्धान परिषद् नार्क स्थित राष्ट्रिय वाली विकास केन्द्र परिसर खुमलटारमा पुग्न भ्याएका कृषि मन्त्री बेदुराम भुसालले बडो मजाले शानदारका साथ भने,’यसपटक म दावा गरेर भन्छु, मलको अभाव छैन, पोहोर परारको फोटो खिचेर सामाजिक सञ्जालमा हाल्ने, त्यस्ताको पछि लाग्ने हो भने त के हुन्छ के ।’

तस्बिर : अनलाइन खबर
उनले यसरी बोली रहँदा किसान अहिले पनि मल नपाएर विभिन्न सहकारी र हरेक ठाउँ मलको लागि भाैतारी रहेका छन्। सिंहदरबारका ‘किसान’ लाई कहिल्यै मल अभाव भएन ।
किसानका पीडा सँधै उस्तै
धान लगाउन व्यस्त किसानलाई खाना खान समेत फुर्सद हुँदैन । वर्षेनी एउटै पिर छ मल कहाँ पाइएला । कति किसानसँग त झन मल किन्न समेत आर्थिक अभाव हुने गरेको छ । एक दिन किसिम किसिमका लुगा लगाएर तस्बिरकै लागि रोपाइँ गर्ने नेताले तिनै खेतमा दिनहुँ पसिना बगाइरहेका किसानका लागि मल तथा आर्थिक सहयोग जुटाएको तस्बिर देख्न पाउँदा पाे कृषि प्रधान देशका कृषकका पीडा बुझेका नेता भनेर वाई वाही हुँदो हो । र सरकारले भन्छ बजारमा पर्याप्त मल छ । तर बिचौलियाले मललाई आफ्नो व्यापार बनाउनुले किसानलाई निकै सास्ती भइरहेको छ ।
सरकारी तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७६/७७ मा मुलुकको झण्डै १४ लाख ५८ हजार ९ सय १५ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो भने ५५ लाख ५० हजार ८ सय ७५ मेट्रिक टन धान उत्पादन भएको थियो । सरकारले आजका दिनलाई दिवसका रूपमा मनाउँदै आए पनि आधुनिक प्रविधिको आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्धि हुन नसकेको कृषि विज्ञहरू बताउँदै आएका छन् । कृषि गणना अनुसार नेपालमा ४१ लाख घरपरिवार कुनै न कुनै रूपमा कृषि कार्यमा सामेल छन् ।
नेपालमा झण्डै १५ लाख हेक्टर जमिनमा धान उत्पादन हुँदै आएको छ । यस वर्ष १४ लाख ९६ हजार हेक्टर जमिनमा रोपाइँ हुने प्रक्षेपण छ । बुधवारसम्म एक लाख ६६ हजार छ सय हेक्टरमा मात्रै रोपाइँ भएको कृषि विभागले जनाएको छ । अहिले किसानलाई प्रमुख बाली धान रोपाइँको चटारो छ । उत्पादन बढाउने सरकारको उद्देश्य भए पनि मनसुन फेरबदल, समयमै बीउ, मलखाद नपाउने, सिँचाइको अभाव लगायतका समस्या यथावत् छन् ।
सिँचाइको भरपर्दो सुविधा नभएको क्षेत्रमा आकाशकाे पानीको भरमा धान रोपाइँ गर्नुपर्ने बाध्यता छ । जनशक्तिको अभाव र लागत महँगो हुँदा पनि किसान समस्यामा छन् । यहीबेला पहाडी क्षेत्रमा लम्पी स्कीन रोगले गोरु सङ्क्रमित भएका छन् । जोत्ने गोरु नै बिरामी हुने र मर्ने भएपछि रोपाइँमा असर परेको छ । असार महिनालाई मानो रोपेर मुरी उब्जाउने महिनाका रुपमा पनि लिने गरिन्छ । धानको उत्पादन घटेमा किसानलाई मात्र होइन, समग्र अर्थतन्त्रमा पनि असर पुग्नेछ । पोहोर ५४ लाख ८६ हजार मेट्रिक टन धान फलेको थियो।
यो अघिल्लो वर्ष २०७८/७९ को तुलनामा छ दशमलव ९४ प्रतिशतले धेरै हो । पोहोर परारको तुलनामा धान उत्पादन केही बढे पनि तीन वर्षअघिको तहमा पुग्न सकेको छैन । नेपालमा अहिलेसम्मकै सर्वाधिक धान उत्पादन आर्थिक वर्ष २०७७/७८ मा भएको थियो । त्यस वर्ष रासायनिक मलको व्यवस्थापन तथा मौसमले पनि साथ दिएका कारण ५६ लाख २१ हजार मेट्रिक टन धान फलेको थियो ।
आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश शरण महतले कृषि तथा पशुपन्छी विकास मन्त्रालयतर्फ ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएको बताए ।
चालू आर्थिक वर्षमा ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरिएको थियो । तर वर्षेनी बजेट बढेपनि किसानले भने अझै राहत महसुस गरेका छैनन् । किसानका नाममा गैर किसानले विभिन्न निकायबाट सहुलियत प्राप्त गरेका समाचार आइरहनु विडम्बनाकै विषय हो ।













