विराटनगर । आज कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सकेनन् । बहुमत जुटाउन नसकेपछि कार्की स्वतः पदमुक्त भएका छन् । बहुमत पुर्याउन जम्मा प्रदेश सांसद मध्ये ४७ जनाको मन् आवश्यक पर्दथ्यो । तर कार्कीले त्यसमा भाग्यशाली रहन सकेनन् जसको बावजुत उनले मात्र ४६ मत प्राप्त गरे । सभामा जम्मा ८९ सांसद उपस्थित थिए।
शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रयोजनका लागि सदनमा उठेका जिज्ञासाको जवाफ दिएर कार्कीले मत विभाजन गराउन सभामुख बाबुराम गौतम समक्ष आग्रह गरेका थिए । जसमा कार्कीले बहुमत पुर्याउन सकेनन् । कार्कीलाई एमालेका ४० र राप्रपाका छ सांसदले मात्र मत दिए । विपक्षमा ४३ मत खस्यो । जसपाका एक र गठबन्धन दलबाट दुई जना सांसद मत विभाजनमा अनुपस्थित भएका थिए ।
मुख्यमन्त्री कार्की नेकपा एमाले सहित नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राप्रपाको समर्थनमा गत वर्ष पुस २४ गते नियुक्त भएका थिए । पुस २५ गते प्रदेश सभामा शपथ ग्रहण गर्दा उनको पक्षमा ६० जना सांसद रहेका थिए ।
तर माओवादी केन्द्रले गत जेठ २३ र जसपाले त्यसअघि जेठ १७ गते समर्थन फिर्ता लिएपछि कार्की अल्पमतमा परेका थिए । अल्पमतमा परेको अवस्थामा कार्कीले सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट अध्यादेशमार्फत ल्याएका थिए ।
अध्यादेश बिहीबार प्रदेशसभाको बैठकमा टेबुल भएको छ । मुख्यमन्त्री कार्की पदमुक्त भएसँगै अब गठबन्धन दलले नयाँ सरकार गठनको प्रक्रिया थाल्ने छ ।













