पूर्व कप्तान मल्लले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

तस्बिर : क्यान

कैलाली। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आकस्मिक रूपमा शुक्रबार काठमाडौंमा पत्रकार गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। मल्लले सबै उमेर समूह र राष्ट्रिय टोली गरी १८ वर्षको क्रिकेट जीवनबाट विश्राम लिने बताएका हुन।

१० वर्ष कप्तानी गरेका पारस खड्काले राजीनामा दिएपछि नेपाल क्रिकेट संघले क्यानले २०७६ सालको कात्तिकमा राष्ट्रिय टोलीको नेतृत्वदायी भूमिका प्रदान गर्दै कप्तानमा नियुक्त गरेको थियो । उनी पारस कप्तान रहँदा नेपाली टोलीको उपकप्तानको भूमिकामा थिए।

उनलाई क्यानले कप्तान बनाए पनि लामो समय भने भूमिकामा राखेन । क्यानले गरेको खेलाडी वर्गीकरणमा भएको त्रुटिको विषयमा आफ्नो असन्तुष्टि सञ्चार माध्यममा व्यक्त गरेका मल्ललाई अन्यायपूर्ण रूपमा कप्तानबाट हटाइएको थियो। उनलाई कप्तानबाट हटाएपछि क्यानले सन्दीप लामिछानेलाई नयाँ कप्तानको रूपमा टोलीको नेतृत्व दिएको थियो ।

कप्तानबाट हटेपछि उनले दुई वर्ष राष्ट्रिय टोलीबाट खेले । पछिल्लो पटक उनले आईसीसी एकदिवसीय छनोटमा आयरल्याण्डविरुद्ध खेलेका थिए। जिम्बावेको हरारेमा भएको खेलमा उनी सात रनमा पेभिलियन फर्किएका थिए । खराब लयको कारण पछिल्लो लामो समय टोलीमा परी रहे पनि अन्तिम ११ मा भने उनले मौका पाई रहेका थिएनन्।

ज्ञानेन्द्र सन् २००५ मा नेपालको यू १५ टोलीमा परेका थिए। त्यही वर्ष उनी नेपालको यू १७ र यू १९ टोलीमा मात्र परेनन् सिनियर टोलीमा समेत पर्न सफल भएका थिए।

उनले एकै वर्ष नेपालको तीन वटा उमेर समूह (यू १५, यू १७ र यू १९) सहित राष्ट्रिय टोलीमा परेर कीर्तिमान समेत बनाएका थिए। सिनियर राष्ट्रिय टोलीमा डेब्यु भने उनले सन् २००६ मा नामिबियामा गरे।

उनले राष्ट्रिय टोलीबाट ३७ एकदिवसीय खेलमा आठ सय ७६ रन बनाएका छन् भने यस्तै ४५ टी २० खेलमा आठ सय ८३ जोड्दा एक शतक र दुई अर्धशतक समेत प्रहार गरेका छन्।

Share