नेदरल्याण्ड्ससंगको नमिठो हार पछि नेपालको विश्वकप यात्रामा पूर्ण विराम

तस्बिर : आईसीसी

काठमाडाैं । जिम्बाबेमा जति आईसीसी एकदिवसीय क्रिकेट विश्वकप क्वालिफायर छनोटमा नेदरल्यान्ड्सविरूद्धको महत्वपूर्ण खेलमा पराजित भएसँगै नेपाल सुपर सिक्समा पुग्न असफल भयो । यो सँगै नेपालको सन् २०२३ को एकदिवसीय विश्वकपमा छनोट हुने सम्भावनामा पनि पूर्ण विराम लागेको छ ।

शनिबार जिम्बावेको हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा बलिङ र ब्याटिङ दुवैमा खराब प्रदर्शन गरेको नेपाललाई नेदरल्यान्ड्सले सात विकेटको फराकिलो अन्तरले पराजित गर्‍यो। नेपालले दिएको एक सय ६८ रनको झिनो लक्ष्य नेदरल्यान्ड्सले मात्र तीन विकेट गुमाएर २७ ओभर एक बलमा पूरा गर्‍यो।

नेदरल्यान्ड्सका लागि म्याक्स ओ’डाउडले अर्धशतक प्रहार गरे। उनले ९० रनको योगदान दिए। गुल्सन झाबाट बोल्ड हुनुअघि उनले ७५ बलमा आठ चौका र चार छक्का प्रहार गरे । यस्तै डि लीडले अविजित ४१ रन जोडे। उनले ३९ बलमा छ चौका प्रहार गरे।

सन्दीप लामिछानले ब्रिकमजित सिंहलाई ३० रनमा एलबिडब्लूको धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए। सन्दीपले दोस्रो विकेट लिने क्रममा नेदरल्यान्ड्सका वेस्ली बारेसीलाई तीन रनमा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए। सन्दीपले १० ओभरमा दुई विकेट लिँदा ६० रन खर्चिए।

त्यसअघि नेपाल ४४ ओभर तीन बलमा एक सय ६७ रनमै समेटियो ।

नेदरल्यान्ड्सले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले तेस्रो ओभरदेखि विकेट गुमाउन सुरू गरेको थियो। नेदरल्यान्ड्सको तीव्र गतिका बलरसामू नेपाली ब्याटरले खुलेर ब्याटिङ गर्न सकेनन्। ओपनिङ ब्याट्सम्यान आसिफ शेख तेस्रो ओभरको दोस्रो बलमा भान वीकबाट शून्यमा बोल्ड भए। सुरुवातमै दबाबमा परेको नेपालका ओपनर कुशल भुर्तेल १४ ओभरसम्म टिके पनि १५ औं ओभरको पाँचौ बलमा बिक्रमजितको बलमा क्याच भए। २७ रन जोडेर आउट हुनुअघि उनले ४२ बलमा दुई चौका मात्र हिर्काए। दुई ओभरपछि आरिफ शेख छ रनमा बिक्रमजितकै बलमा भान वीकबाट क्याच भए।

यस्तै भीम सार्की १९‍‍औं ओभरको पहिलो बलमा २२ रनमा आउट भए। केहिबेर कप्तान रोहित कुमार पौडेलसँग साझेदारी गर्दा एक छक्का हिर्काएका कुशल मल्ल १९ बलमा १२ रन जोडेर पभिलियन फर्किए। कप्तान पौडेल छैटौं विकेटको रुपमा ३२औं ओभरमा ३३ रनमा आउट भए। रोहितले आउट हुनुअघि ५५ बलमा तीन चौका र एक छक्का हिर्काए।

दीपेन्द्रसिंह ऐरी १४ रनमा भान वीकको बलमा आउट भएपछि नेपालको इनिङ संकटमा परेको थियो। सन्दीप लामिछानेसँग आठौं विकेटका लागि ३२ रनको साझेदारी गरेका गुल्सन झा ४२औं ओभरमा १५ रनमा डि लीडको बलमा विकेट पछाडि समातिए। चार बलपछि करण केसी एक रनमा उस्तै अवस्थामा क्याच हुँदा नेपालको नवौं विकेट गएको थियो। सन्दीप लामिछाने ३३ बलमा चार चौकाको मद्दतमा २७ रन जोड्दा नेपालले एक सय ५० रन कटाएको थियो।

बलिङमा नेदरल्यान्ड्सका भान वीकले चार विकेट लिए। डि लीड र बिक्रमजितले सामान दुई विकेट हात पारे।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा आयोजक जिम्बावेसँग आठ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा नेपालले अमेरिकामाथि छ विकेटको जित निकाल्दै महत्वपूर्ण दुई अङ्क जोड्यो। तेस्रो खेलमा दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग निडर प्रदर्शन गरेको नेपाल एक सय एक रनले पराजित भयो। चौथो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएसँगै नेपालको शीर्ष तीनमा पर्ने सम्भावना सकियो। नेपालले चार खेलबाट दुई अङ्क मात्र जोड्न सक्यो।

नेपालको सुपर सिक्स सम्भावना सकिएसँगै समूहबाट वेस्ट इन्डिज, जिम्बावे र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन्। पाँच-पाँच टोलीको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टोली पुग्नेछन्।

सुपर सिक्समा एक समूहका तीन टोलीले अर्को समूहका तीन टोलीसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टोली आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आईसीसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

Share