कैलाली । जिम्बाबेमा जारी आईसीसी एक दिवसीय विश्व कप क्रिकेटको क्वालिफाएर प्रतियोगिता अन्तर्गत आज नेपालले आफ्नो चौथो तथा समूह चरणको अन्तिम महत्वपूर्ण खेल खेल्दै छ । आज नेपालले आफू भन्दा बलियो नै रहेको नेदरल्याण्ड्सको सामना गर्दै छ । खेल नेपाली समय अनुसार दिउसो पौने एक बजे जिम्बाबेको टाकासिंगा स्पोर्टस् क्लबमा सुरु हुने छ । नेपाललाई आजको खेल निकै महत्वपूर्ण पनि रहेको छ । यदि आजको खेल हारेमा नेपाल समूह चरणबाट नै बाहिरिने छ । सुपर सिक्समा पुग्नको लागि आज नेपाली टोलीलाई जित्नै पर्ने दवाव रहेको छ । पाँच ओटा टोली रहेको समूह ‘ए’ मा नेपालले तीन खेल खेली सक्दा एक खेलमा मात्र जित हात पार्दै चौथो स्थानमा रहेको छ । उक्त समूहबाट अमेरिका भने लगातार तीन खेलमा हार बेहोर्दै सुपर सिक्सको दौडानबाट बाहिरि सकेको छ ।
जिम्बाबे र वेस्ट इन्डिज भने आफूले खेलेका दुई खेलमा शतप्रतिशत नतिजा निकाल्दै अङ्क तालिकाको पहिलो र दोस्रो स्थानमा रहेका छन् । दुई खेल खेलेको नेदरल्याण्ड्स भने एकमा हार र एकमा जित निकाल्दै तेस्रो स्थानमा रहेको छ । नेपाल पहिलो खेलमा घरेलु टोलीसँग आठ विकेटले हार्दा दोस्रो खेलमा अमेरिका माथि छ विकेटको जित हात पारेको थियो । भने तेस्रो खेलमा दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग एक सय एक रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
यदि नेपालले आजको खेल जितेमा नेपाल चार अङ्कका साथ तेस्रो स्थानमा उक्लिने छ । जसले गर्दा सुपर सिक्समा पुग्ने सम्भावना बलियो हुने छ । नेदरल्याण्ड्सले बाँकी एक खेल वेस्ट इन्डिजसँग खेल्न बाँकी रहेको छ । त्यसैले नेपालले आजको खेलमा जित हात पारे लगभग अन्तिम छ मा पर्ने सम्भावना बलियो हुने छ । तर यदि आफ्नो अन्तिम खेलमा नेदरल्याण्ड्सले अप्रत्याशित जित निकालेको खण्डमा भने नेपालको सपना सपनामै सीमित रहने छ । तर निकै बलियो रहेको वेस्ट इन्डिजलाई जित्न उसलाई सहज छैन् ।
नेपाल र नेदरल्याण्ड्स एकदिवसीय खेलमा पाँच वर्षपछि आमुन्ने सामुन्ने हुन लागेका हुन । एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्ड्ससँग जम्मा दुई खेल मात्र खेलेको छ । जसमा पहिलो खेलमा ५५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले एक रनको सनसनीपूर्ण जित हात पारेको थियो । उक्त समयमा नेपाली टोलीको कप्तानको रुपमा पारस खड्का रहेका थिए । हाल पारसले सबै खाले क्रिकेटबाट सन्यास लिइ सकेका छन् ।
तर अचेल दुबै टोली पहिले भन्दा भिन्न छन् नेपाल युवा जोशले भरिपूर्ण रहेको छ भने नेदरल्याण्ड्स अनुभवले भरिपूर्ण टोलीको रुपमा आफूलाई स्थापित गराउँदै आएको छ । जारी प्रतियोगितामा उसका कप्तान स्कट एडवर्ड्स, विक्रमजीत सिंह, माक्स ओडाउड, तेजा निदामनुरु जस्ता ब्याट्सम्यान निकै लयमा रहेका छन् । जो आज पनि नेपालका लागि घातक बन्न सक्छन् ।
यता नेपालका भने नियमित तीव्र गतिका बलर सोमपाल कामी टोलीमा प्रयाप्त हुने छैनन् । उनी हातको चोटका कारण टोलीका लागि प्रयाप्त हुन बञ्चित रहेका छन् । उता केही समय निकै लयमा रही विश्व रेकर्ड समेत कायम गरेका युवा स्टार लेग स्पिनर सन्दीप लामिछाने पनि लयमा रहेका छैनन् । जसले गर्दा टोली झनै दबाबमा पर्ने देखिन्छ । जिम्बाबे र वेस्ट इन्डिजसँग खेल्दा फिल्डिङमा पनि चुकेको नेपालले आज त्यो पनि सुधार गर्नु पर्ने छ । अहिलेको अवस्था हेर्दा उ नेपाल भन्दा निकै स्तरीय टोलीको रुपमा चिनिएको छ ।
एका तिर विकेट जोगाउनु पर्ने दबाबसँगै रन पनि सोही गतिमा प्रहार गर्नु पर्ने दवाव नेपाली टोलीलाई रहेको छ । किनकी आज नेपाल ‘गर या मर’ को स्थितिमा रहेका छ भने, अर्को तिर नेदरल्याण्ड्सले जिम्बाबेसँग पनि तीन सय १५ रन बनाउँदै कडा चुनौति दिएको थियो । जसले गर्दा आज नेपालले थप मिहिनेत गर्नु पर्ने छ ।
नेपाली टोली युवा खेलाडीले भरिपूर्ण टोली हो । उनीहरूमा पनि अनुभवको त कमी छैन् तर बलियो मानिएको नेदरल्याण्ड्स सामु अनुभवको अभाव त खड्किने नै छ । तर विश्वकप लिग दुईमा पछिल्लो पटक खेलेका १२ खेल मध्य ११ खेलमा जित निकालेको टोली कमजोर भने छैन् । युवा खेलाडीहरू मैदानमा भरपुर प्रयास गर्ने छन् । आज पनि सम्भवतः प्रशिक्षक मोन्टी देसाइले अन्तिम ११ मा कुनै पनि परिवर्तन गर्ने छैनन् । किनकी तीव्र गतिका बलर कामी चोटका कारण त्यसै पनि बेन्चमै हुने छन् भने ज्ञानेन्द्र मल्ल आज पनि जहाँसम्म मौका पाउने छैनन् ।
यस्तो अवस्थामा निकै लयमा रहेका कुशल भुर्तेल र आसिफ शेखले ओपनिङमा विकेट बचाउँदै रन गति बढाउनु पर्ने छ । त्यसपछि तेस्रोमा आउने भीम सार्कीले सोही गतिको रनमा झनै रन गति बढाउनु पर्ने देखिन्छ । त्यसपछि चौथो स्थानमा आउने कप्तान रोहित कुमार पौडेलले पनि आज कप्तानी पारी खेल्दै आफ्नो भूमिका निभाउनु पर्ने छ । पाँचौ स्थानमा आउने कुशल मल्ल भने ठूला सट खेल्न माहिर मानिन्छन् । उनी एक दुई रनमा भन्दा पनि बाउन्ड्री प्रहार गर्ने बढी प्रयास गरि रहेका हुन्छन् । जसले गर्दा उनी कहिले चाँडै पेभिलियन फर्किने गर्दछन् । भने जव उनले क्रिजमा हात खोल्ने मौका पाउँछन् तव विपक्षी बलरमाथि जाई लागि हाल्छन् । यस्तै त्यसपछि आउने आरिफ शेखले पनि रन गतिमा झनै इँटा थप्ने काम गर्नुपर्ने छ । त्यसै गरि दिपेन्द्रसिंह ऐरी र गुल्सन झाले पनि अन्तिम तिर ठूला सट प्रहार गर्ने पर्ने छ । जसले गर्दा विपक्षी टोली माथि हावी हुन सकियोस् । प्रशिक्षकले कहिले कँही आवश्यकता अनुसार झा लाई अगाडि पनि पठाउन सक्छन् । अन्तिममा करण केसी पनि ठूला सट खेल्न सक्षम छन् । जसले गर्दा टोलीको स्कोरमा केही राहत मिल्ने छ ।
बलिङमा भने मुख्य जिम्मेवारी आज पनि केसीलाई नै रहेको छ । उनले कामीको अभाव खड्किन नदिन पनि भरपुर मिहिनेत गर्नु पर्ने छ । गर्दै पनि आएका छन् । उनले आज थप बढी कोसिस गर्नु पर्ने छ । उनलाई अर्को इन्डबाट झा ले सहयोग गर्ने छन् । बेलाबखत आरिफले पनि मध्यम गतिको बलिङ गर्दै यी दुई बलरलाई अघाउने छन् । भने स्पिन तर्फ अगाडिका खेलहरूमा खासै लयमा नरहेका स्टार लामिछानेले भने आज भरपुर प्रयास गर्नु पर्ने छ । उनलाई अर्को इन्डबाट ललित राजवंशीले साथ दिने छन् । उनी पनि पछिल्लो समय निकै लयमा रहेको छन् । त्यो लय आज पनि कायम राख्नु पर्ने छ । त्यस्तै ऐरी र मल्लले पनि भरपुर संघर्ष गर्ने छन् ।
यो प्रतियोगितामा चार टेष्ट राष्ट्र सहित १० टोलीको सहभागिता रहेको छ । समुह ‘ए’ मा नेपाल सहित घरेलु टोली जिम्बाबे, वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् ।
यस्तै समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । समूह ‘बी’ बाट लगातार तीन खेलमा हार बेहोर्दै युएई सुपर सिक्सको दौडबाट बाहिरि सकेको छ । दुवै समूहका शीर्ष तीन टोली ‘सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा भारतमा हुने एकदिवसीय विश्व कपमा स्थान बनाउने छन् ।












