कैलाली । असार तीन गते देखि जिम्बाबेमा सुरु भएको आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको क्वालिफाएर अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल खेल्दै छ । हाल सम्म दुई खेल खेलेको नेपालले एकमा हार र एकमा जित निकालेको छ । प्रतियोगितामा आज भने नेपाल दुई पटक एकदिवसीय र दुई पटक टी २० विश्वकपको उपाधि उचाली सकेको बलियो टोली वेस्ट इन्डिजको सामना गर्दै छ । खेल नेपाली समय अनुसार दिउँसो पौने एक बजे जिम्बाबेको हरारे स्पोर्टस् क्लबमा हुने खेल समय तालिका रहेको छ । प्रतियोगितामा नेपाल आज दोस्रो पटक टेष्ट राष्ट्रसँग खेल्न लागेको हो । पहिलो खेलमा घरेलु टोलीसँग आठ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भने एसोसिएट राष्ट्र अमेरिकामाथिलाई छ विकेटको जित हात पारेको थियो ।
पछिल्लो समय निकै लयमा रहेको नेपाली क्रिकेट टोली आज सम्भवतः वेस्ट इन्डिजलाई स्तब्ध पार्दै सरप्राइज नतिजा निकाल्ने लक्ष्यका साथ मैदान प्रवेश गर्ने छ । तर यस प्रतियोगितामा निकै बलियो र अनुभवी टोलीको रुपमा चिनिएको टोली वेस्ट इन्डिजलाई जित्न नेपाललाई फलामको चिउरा चपाउनु जस्तै हुने छ । नेपाली टोलीसँग अनुभवको कमी रहेको छ । सन् २०१४ मा टी २० विश्वकप खेलेको नेपाली टोलीमा त्यति बेलाका सोमपाल कामी, ज्ञानेन्द्र मल्ल मात्र टोलीमा छन् । तर सोमपाल चोटका कारण यस प्रतियोगिताका समूह चरणका खेलमा उपलब्ध हुने छैनन् । त्यसले गर्दा आज नेपाली टोली थप दबाबमा हुने छ । किनभने सोमपाल एक मात्र तिव्रगतिका बलर हुन नेपाली टोलीका लागि । उनको अभावलाई टोलीमा खड्किन नदिन करण केसी र गुल्सन झाले भरपुर प्रयास गर्नु पर्ने छ । यस्तै अनुभवी खेलाडी मल्ल केही समय अघि देखि लयमा नरहेका कारण उनी आज पनि सम्भवतः अन्तिम ११ मा स्थान पाउने छैनन् । जसले गर्दा सम्पूर्ण जिम्मेवारी युवा खेलाडीमा रहेको छ ।
तर उत्कृष्ट लयमा रहेको वेस्ट इन्डिजसँग टक्कर दिन नेपालले मैदानमा कडा मिहिनेत र परिश्रम गर्नुपर्ने छ । एका तिर विकेट जोगाउनु पर्ने छ भने अर्का तिर रन पनि सोही गतिमा प्रहार गर्नु पर्ने छ । किनकी उ विशाल लक्ष्य पनि सहजै पुरा गर्ने सामथ्र्य राख्ने एक मात्र टोली हो । त्यसै पनि विश्वमा नै वेस्ट इन्डिजलाई ‘वेस्ट हिटर’ टोलीको नामले पनि चिनिन्छ । उसले हाल सम्म जस्ता सुक्कै अनुभवी देशलाई पनि चक्मा दिँदै आएको छ । उसले एक दिवसीय विश्वकपको लगातार पहिलो र दोस्रो संस्करणको उपाधि आफ्नो हात पारि सकेको छ । सन् १९७५ मा इङ्ग्ल्याण्डमा भएको पहिलो संस्करणको फाइनलमा अष्ट्रेलियालाई पाखा लगाउँदै उपाधि चुमेको थियो भने सन् १९७९ मा इङ्ग्ल्याण्डलाई हराउँदै उपाधि उचालेको थियो । यस्तै सन् २०१२ र २०१६ को टी २० विश्वकपको उपाधि पनि उसले आफ्नो हात पारी सकेको छ । त्यसै पनि उ नेपालका अगाडि एक बलियो पहाड जस्तै उभिएको छ ।
नेपाली टोली युवा खेलाडीले भरिपूर्ण टोली हो । उनीहरूमा पनि अनुभवको त कमी छैन् तर विश्व विजेता टोलीको अगाडि सीमित स्रोत साधनका बिच क्रिकेटमा भविष्य खोज्दै गरेका युवाका अगाडि इन्डिजको अनुभव निकै अगाडि रहेको छ । अर्को कुरा नेपालले हाल सम्म पनि उसँग खेल्ने अवसर पाएको छैन् । नेपालका लागि यो खेल अवसर र चुनौति दुबै हो । नेपाल आज आफूभन्दा निकै बलियो रहेको घरेलु टोलीलाई सरप्राइज दिँदै सुखद सुरुवात गर्ने तयारीमा रहेको छ । तर उसलाई जित्न नेपालका लागि त्यति सहज छैन् । वेस्ट इन्डिज पनि उत्कृष्ट लयमा रहेको छ । त्यति मात्रै हैन उसमा अनुभवको पनि कमी छैन् । नेपाली टोली भने युवा खेलाडीले भरिपूर्ण भएकाले अनुभवी टोलीसँग खेल्दा नेपाली खेलाडीमा अनुभव खड्किने छ ।
तर विश्वकप लिग दुईमा पछिल्लो पटक खेलेका १२ खेल मध्य ११ खेलमा जित निकालेको टोली कमजोर भने छैन् । उसले विश्व विजेता टोलीलाई आज एक चुनौति दिने छ । युवा खेलाडीहरू मैदानमा भरपुर प्रयास गर्ने छन् । आज पनि सम्भवतः प्रशिक्षक मोन्टी देसाइले अन्तिम ११ मा कुनै पनि परिवर्तन गर्ने छैनन् । किनकी सोमपाल कामी चोटका कारण त्यसै पनि बेन्चमै हुने छन् ।
ज्ञानेन्द्रले आज पनि जहाँसम्म मौका पाउने छैनन् । यस्तो अवस्थामा निकै लयमा रहेका कुशल भुर्तेल र आसिफ शेखले ओपनिङमा विकेट बचाउँदै रन गति बढाउनु पर्ने छ । त्यसपछि तेस्रो र पाँचौ स्थानमा आउने कुशल मल्ल र भीम सार्की पनि निकै लयमा रहेका छन् । यी दुई खेलाडीको स्थान हाल सम्म पनि निश्चित छैन् । कहिले तेस्रोमा सार्की जान्छन् त कहिले मल्ल जान्छन् । एउटा तेस्रोमा गयो भने अर्को पाँचौमा जान्छन् उनीहरूको स्थान अहिले सम्म यसै गरि चलेको छ । त्यस्तै चौथोमा आउने कप्तान रोहित कुमार पौडेलले आज केही सम्हालेर खेल्नु पर्ने छ । अगाडिका दुई खेलमा खासै प्रदर्शन गर्न नसकेका उनले आज आफ्नो क्षमता देखाउनु पर्ने छ । यस्तै त्यसपछि भने कसलाई पठाउने त्यो अवस्था हेरेर दिपेन्द्रसिंह ऐरी, आरिफ शेख र गुल्सन झालाई कहाँ निर पठाउने प्रशिक्षकको हातमा हुने छ । ब्याटिङमा उनीहरूले भरपुर मिहिनेत गर्दा बलिङमा मुख्य जिम्मेवारी करण केसीलाई रहेको छ । उनले कामीको अभाव खड्किन नदिन पनि भरपुर मिहिनेत गर्नु पर्ने छ । यस्तै उनलाई अर्को इन्डबाट झा ले सहयोग गर्ने छन् । बेलाबखत आरिफले पनि मध्यम गतिको बलिङ गर्दै यी दुई बलरलाई अघाउने छन् । भने स्पिन तर्फ अगाडिका दुई खेलमा लयमा नरहेका स्टार सन्दीप लामिछानेले भने आज भरपुर प्रयत्न गर्नु पर्ने छ । अगाडिका दुई खेलमा विकेट विहीन बन्दै महँगा सावित भएका उनले आज भने आफ्नो अनुभव देखाउनु पर्ने छ । उनलाई अर्को इन्डबाट ललित राजवंशीले साथ दिने छन् । उनी पनि पछिल्लो समय निकै लयमा रहेको छन् । त्यो लय आज पनि कायम राख्नु पर्ने छ । त्यस्तै ऐरी र मल्लले पनि भरपुर संघर्ष गर्ने छन् ।
तर उता वेस्ट इन्डिजका कप्तान साइ होप, निकोलस पुरन, जेसन होल्डर, जोनसन चाल्र्स, रोस्टन चेस जस्ता खेलाडी अनुभव सँगै निकै लयमा रहेका छन् । जसले नेपाली बलरलाई स्तब्ध पार्ने छन् । काइल मेयर्स, अल्जारी जोसेफ, होल्डर लगायतका बलर पनि निकै लयमा छन् । जसले गर्दा नेपाली युवा खेलाडीहरूको पारीलाई एकपछि अर्को गर्दै ध्वस्त गर्ने छन् ।
पहिलो खेलमा टेष्ट राष्ट्र घरेलु टोलीसँग हारेको झोक यहाँ प्रस्तुत गर्ने लक्ष्यमा नेपाली टोली रहेको छ । नेपाली खेलाडीले वेस्ट इन्डिजसँग आफूहरू खेल्न सक्षम रहेको पनि बताई रहेका छन् । सरप्राइज टोलीको रुपमा विश्वकपमा स्थान बनाउने लक्ष्यमा रहेको नेपाली टोली आज निकै कडा चुनौति दिने छ ।
यो प्रतियोगितामा चार टेष्ट राष्ट्र सहित १० टोलीको सहभागिता रहेको छ । समुह ‘ए’ मा नेपाल सहित घरेलु टोली जिम्बाबे, वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् ।
यस्तै समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा भारतमा हुने एकदिवसीय विश्व कपमा स्थान बनाउने छन् ।












