साफ च्याम्पियनसिपको उद्घाटन खेलमै नेपाल कुवेतसँग पराजित

तस्बिर : सामाजिक सञ्जाल

कैलाली । आजबाट भारत सुरु भएको साफ च्याम्पियनसिप २०२३ अन्तर्गतको पहिलो तथा उद्घाटन खेलमा नेपाल कुवेतसँग ३-१ गोल अन्तरले पराजित भएको छ ।

भारतको बेङ्लोरमा रहेको कन्तिराभा रङ्गशालामा भएको खेलमा नेपाल कुवेतसँग पहिलो हाफमा नै २-० गोलले पछि प¥यो । पहिलो हाफमा नै दुई गोल खाएको नेपालले दोस्रो हाफमा समेत थप एक गोल खायो । कुवेतका लागि कप्तान खालेद हजियाले खेलको २३ औँ मिनेटमा गोल गर्दै अग्रता बनाएका थिए । यस्तै खेलको ४१ औं मिनेटमा शाइबाइबा अल्खाल्दीले गोल गर्दै पहिलो हाफमा २-० ले टोलीलाई अगाडि लगे । यस्तै खेलको ६५ औं मिनेटमा कुवेतका लागि मोहम्मद अब्दुल्लाहले पेनाल्टीमार्फत तेस्रो गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए । 

त्यसपछि खेलको ६८ औं मिनेटमा अञ्जन विष्टले सान्त्वना एक गोल फर्काए ।
साविक उपविजेता नेपालले अब आउँदो शनिवार असार नौ गते घरेलु टोली भारतको सामना गर्ने छ । समूह ’ए’ मा नेपालसँगै भारत, पाकिस्तान र कुवेत रहेका छन् । समूह ’बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।

प्रतियोगिताको १४ औँ संस्करणमा लेबनान र कुवेतले आमन्त्रित टोलीको रूपमा खेल्न लागेका हुन् । सार्कमा रहेको श्रीलङ्का भने फिफाको प्रतिबन्धका कारण यस पटक प्रतियोगितामा सहभागी हुन पाएको छैन ।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनल खेल आउँदो असार १९ गते हुने खेल तालिका रहेको छ ।

Share