बझाङमा गाडी दुर्घटनामा सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री सिंहको मृत्यु, साथै उनकी भाउजु र श्रीमतीको पनि निधन

कैलाली । मंगलबार दिउँसो करिब दुई बजे तिर बझाङ जिल्लाको केदारस्युँ गाउँपालिकाको धारछडामा ठाउँमा गाडी दुर्घटनामा परी गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ ।

नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा करिब पाँच बजेर ३३ मिनेट जाँदा उनको मृत्यु भएको नेपालगन्ज मेडिकल कलेजले एक सूचना जारी गर्दै जानकारी गराएको छ ।

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी बझाङ केदारस्युँ गाउँपालिकाको धारछडामा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।

मन्त्री सिंहलाई बझाङबाट हेलिकप्टरमार्फत् उपचारका लागि नेपालगञ्ज लगिएकाे थियाे । दुर्घटनामा मन्त्री सिंह, उहाँकी श्रीमती अमृता देवि सिंह र भाउजु जानकी सिंहको पनि मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका जीप चालक धर्मराज जाेशी र सुरक्षागार्ड दीपक भण्डारीकाे नेपालगञ्जमा उपचार भइरहेकाे समेत मेडिकल कलेजले जनाएको छ।

Share