कैलाली । जिम्बाबेमा जारी आईसीसी एकदिवसीय विश्वकप क्वालिफाएरमा नेपालले पहिलो जित हात पारेको छ । मंगलबार भएको खेलमा नेपालले अमेरिकालाई छ विकेट पाखा लगाउँदै जित दर्ता गरेको हो । यसअघि नेपाल पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो ।
आजको खेलमा अमेरिकाले दिएको दुई सय आठ रनको मध्यम लक्ष्य नेपालले मात्र चार विकेट गुमाएर ४३ ओभरमा पूरा ग¥यो । नेपालको जितमा युवा ब्याट्सम्यान भीम सार्कीले अविजित अर्धशतकीय पारी खेले । तेस्रो एकदिवसीय अर्धशतक प्रहार गरेका सार्कीले एक सय १४ बलमा सात चौका र एक छक्काको मद्दतमा ७७ रन जोडे ।
यस्तै दिपेन्द्रसिंह ऐरी ३९ रनमा अविजित रहँदा कुशल भुर्तेल ३९ रनमा आउट भए । कप्तान रोहित पौडेल १६, कुशल मल्ल १३ र आसिफ शेख १२ रनमा आउट भए ।
त्यसअघि जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा सबै विकेट गुमाएर दुई सय सातको मध्यम लक्ष्य खडा ग¥यो ।
अमेरिकाका लागि सातौँ नम्बरमा ब्याटिङ गरेका शायन जहाँगीरले अविजित शतकीय पारी खेले । एकदिवसीय खेलमा पहिलो शतक प्रहार गरेका उनले एक सय रन जोड्ने क्रममा ७९ बलमा १० चौका र तीन छक्का प्रहार गरे ।
यस्तै गजानन्द सिंह २६ रन बनाएर आउट भए भने ओपनिङ ब्याट्सम्यान र सुशान्त मोदानी ४२ रनमा आउट भए । बलिङ तर्फ नेपालका करण केसीले चार विकेट लिए । केसीले नौ ओभरमा तीन मेडन राख्दा ३३ रन खर्चिएका थिए ।
गुल्सन झाले तीन विकेट लिए भने दिपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवंशीले एक विकेट हात पारे । एकदिवसीय खेलमा सर्वाधिक छिटो सय विकेट लिने कीर्तिमान बनाएका सन्दीप लामिछाने पछिल्ला दुई खेलमा विकेट बिहिन बने । नेपालका लागि लगातार ३३ खेलमा विकेट लिएका सन्दीपले अमेरिकाविरुद्ध १० ओभरमा ५८ रन खर्चिए ।
पहिलो खेलमा नेपाल र अमेरिका दुवैले हार बेहोरेका थिए । यद्यपि नेपालले जिम्बावे र अमेरिकाले वेस्ट इन्डिजसँग हार बेहोरेका थिए । जितसँगै सुपर सिक्समा पुग्ने नेपालको सम्भावना जीवित बनेको छ ।












