कैलाली । नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक मात्र तिब्र गतिका बलर सोमपाल कामीले चोटका कारण जिम्बावेमा जारी आईसीसी विश्वकप क्वालिफायर अन्तर्गत समूह चरणका बाँकी तीन खेल गुमाउने भएका छन् ।
आईतबार घरेलु टोली जिम्बाबेविरुद्धको पहिलो खेल खेलेका सोमपालको चोरी औला र बुढी औलाको बिचको भागको मासु फाटेपछि उनको हातमा दुई ओटा टाँका लगाइएको र अब उनले एक हप्ता आराम गर्नुपर्ने भएकाले उनले खेल गुमाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक अफिसियलले सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।
एक हप्ता आराम गर्नुपरेपछि अब सोमपालले आज हुने अमेरिका विरुद्धको खेलका साथै वेस्ट इन्डिज र नेदरल्यान्ड्सविरुद्धको खेल समेत गुमाउने भएका छन् । यदि नेपाली टोली सुपर सिक्समा पुगे सोमपाल त्यसपछिका खेलमा भने उपलब्ध हुनेछन् ।
विश्वकप छनोटको पहिलो खेलमा नेपाल जिम्बाबेसँग आठ विकेटले पराजित भएको थियो । जसमा सोमपालले टोलीका लागि महत्वपूर्ण योगदान गरेका थिए । पाँच ओभर तीन बल बलिङ गरेका उनले एक मेडन राख्दै ३० रन खर्चिएर महत्वपूर्ण एक विकेट हात पारेका थिए । अब बाँकी तीन खेलमा उनको अभाव नेपाली टोलीलाई खड्किने छ किनकि नेपाली टोलीमा उनी बाहेक अर्को तिब्र गतिको बलर छैन । जसले गर्दा पावर प्ले र फिनिसिङमा नेपाली टोली माथि विपक्षी टोली झन हावी हुने छ । तीव्र गतिका बलरको पावर प्ले र फिनीसिङमा विपक्षी ब्याट्सम्यानलाई दवाव दिन निकै ठूलो महत्व रहेको हुन्छ ।
आज नेपालले दोस्रो खेलमा अमेरिकाको सामना गर्नेछ ।













