कैलाली । जिम्बाबेमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकप क्वालिफाएर छनोट प्रतियोगितामा नेपालले आज नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग भिड्दै छ । खेल जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा दिउँसो पौने एक बजे सुरु हुने तालिका रहेको छ ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल र अमेरिका दुवैले हार बेहोरेका थिए । नेपाल घरेलु टोली जिम्बाबेसँग आड विकेटले पराजित भएको थियो भने अमेरिका वेस्ट इन्डिजसँग ३९ रनले पाखा लागेको थियो । पहिलो खेलमा दुबै टोलीले टेष्ट राष्ट्रसँग प्रतिस्पर्धा गरेका थिए ।
सुपर सिक्समा पुग्नका लागि दुवै टोलीलाई आजको खेल महत्वपूर्ण रहेको छ । आजको खेलमा जित निकाल्न सके मात्र सुपर सिक्स सम्भावना जीवित हुन सक्छ । किनभने अझ नेपालले बलियो टोली वेस्ट इन्डिजको सामना गर्न बाँकी छ भने उता अमेरिकाले पनि जिम्बाबेको सामना गर्न बाँकी नै रहेको छ । यो प्रतियोगितामा एसोसिएट राष्ट्रहरूमा सबैभन्दा बलियो टोलीका रुपमा चिनिएको टोली हो नेपाल । समूह चरणमा नेदरल्याण्ड्स र अमेरिकालाई पराजित गरे नेपाल सुपर सिक्समा पुग्ने छ । तर भने जति सहज भने नेपाललाई जित निकाल्न छैन् ।
कस्तो छ नेपाल र अमेरिका बिचको पछिल्ला खेलको नतिजा ?
नेपाल र अमेरिकाबीच भएका पछिल्ला पाँच एकदिवसीय खेल मध्ये नेपाल र अमेरिका समान दुई खेलमा विजयी भएका छन् । एक खेल भने बराबरीमा सकिएको थियो ।
आईसीसी विश्वकप लिग दुई अन्तर्गत २०२० मा घरेलु मैदानमा खेलिएका दुवै खेलमा नेपालले अमेरिकालाई पराजित गरेको थियो । त्यसपछि ओमानमा २०२१ मा भएको दुई मध्ये नेपाल र अमेरिकाले समान एक खेलमा जित निकालेका थिए । अमेरिकामा २०२२ मा भएको अन्तिम सिरिजमा भने एक खेल बराबरीमा सकिँदा अर्को खेलमा अमेरिका विजयी भएको थियो ।
पछिल्लो समय नेपाल निकै बलियो देखिएको छ । नेपालको प्रदर्शन पनि सुधारात्मक रहेको छ । सोही अनुसार आज नेपाललाई जित निकाल्न सहज हुने छ तर नेपालका लागि आज अमेरिकाका गजानन्द सिंह, आरोन जोन्स, शायन जहाँगीर, स्टेभन टेलर, कप्तान मोनान्क पटेल जस्ता ब्याट्सम्यान मुख्य हतियारका रुपमा उभिने छन् । सिंह जारी प्रतियोगितामा निकै लयमा रहेका छन् । उनले वेस्ट इन्डिजसँगको खेलमा अविजित एक सय एक रनको अविजित पारी खेले पनि टोलीलाई जित भने दिलाउन सकेनन् । यस्तै बलिङमा पनि स्टेभन टेलर, सौरभ नेत्रावलकर, काइल फिलिप जस्ता खेलाडीले नेपाली ब्याट्सम्यानलाई निरिह बनाउने छन् ।
तर नेपाली टोली पनि अमेरिकासँग भिड्न तम्तयार नै रहेको छ । आज अन्तिम ११ मा कसलाई उतार्ने त्यो भने प्रशिक्षकले नै निर्णय गर्ने छन् । धेरै ठुलो परिवर्तन नगरे पनि सामान्य परिवर्तन भने हुन सक्छ । यता लयमा रहेका ओपनर कुशल भुर्तेलले आज पनि उक्त लय कायम नै राख्ने छन् । घरेलु टोलीसँग एक रनले शतक प्रहार गर्न चुकेका उनी आज सो प्रदर्शन अमेरिका विरुद्ध गर्ने छन् । अर्का ओपनर आसिफ शेख पनि लयमा नै रहेका छन् । घरेलु टोलीसँग ६६ रन प्रहार गरेका उनी आज पनि सोही लय कायम राख्न चाहन्छन् । यस्तै अर्का प्रमुख हतियार हुन कुशल मल्ल, भीम सार्की, कप्तान रोहित कुमार पौडेल जसले आज आफ्नो लय समात्ने छन् ।
बलिङ तर्फ पहिलो खेलमा सर्वाधिक महँगा सावित भएका स्टार सन्दीप लामिछाने आज आफ्नो लय समात्ने लक्ष्यका साथ मैदान प्रवेश गर्ने छन् । आज सम्भव त पहिलो खेलमा बेन्चमा बसेका ललित नारायण राजवंशी टोलीमा पर्ने छन् । करण केसी, गुल्सन झा, पहिलो खेलमा राम्रो प्रदर्शन गरेका तीव्र गतिका बलर सोमपाल कामीले आज पनि भरपुर आफ्नो क्षमता देखाउँदै नेपालको सुपर सिक्समा पुग्ने आशा कायमै राख्ने छन् ।
१० टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका छन् । समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन् । आज अमेरिकासँग खेलेपछि नेपालले २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्याण्ड्ससँग खेल्नेछ ।
पाँच/पाँच टोलीको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ । सुपर सिक्समा दुवै समूहका शीर्ष तीन/तीन टोली पुग्नेछन् ।
सुपर सिक्समा एक समूहका तीन टोलीले एक अर्को समूहका तीन टोलीसँग खेल्नेछन् । जहाँ शीर्ष दुईमा पर्न सक्ने टोली आगामी अक्टोबर/नोभेम्बरमा भारतमा हुने आईसीसी विश्वकप क्रिकेटमा छनोट हुने छन् ।













