कैलाली । आईसीसी विश्वकप क्वालिफाएर छनोटको पहिलो खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गर्न नसक्दा नेपालले घरेलु टोली जिम्बावेसँग फराकिलो अन्तरले पराजित हुन पुगेको छ ।
टस हारेर ब्याटिङ थालेको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ९१ रनको चुनौतिपूर्ण लक्ष्य जिम्बावेसामु प्रस्तुत गरेको थियो ।
जबाफी ब्याटिङमा उत्रिएको जिम्बावेले ४४ ओभर एक बलमा मात्र दुई विकेट गुमाएर लक्ष्य पूरा गर्दै नेपालमाथि शानदार आठ विकेटको सानदार जित हात पा¥यो ।
नेपालका बलरहरू सोमपाल कामी र गुल्सनले समान एक विकेट लिनु बाहेक अरु बलर चल्न सकेनन् ।
ब्याटिङबाट जिम्बावेसामु बलियो योगफल बनाए पनि नेपालका मुख्य बलरहरू नै महँगा साबित भए । स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ७७ रन खर्चिए । १० ओभर बलिङ गरेका दिपेन्द्रसिंह ऐरीले ५८ रन खर्चिए ।
जिम्बाबेका ओपनर जोयलर्ड गुम्बी २५ रन र विस्ली मादेभेरे ३२ रन बनाएर आउट हुँदा कप्तान क्रेग इर्भाइनले सर्वाधिक एक सय २१ रनको अविजित इनिङ खेले ।
उनले सिन विलियम्ससँग एक सय ६४ रनको साझेदारी गर्दै एक सय २८ बलमा १५ चौका र एक छक्का प्रहार गरे । विलियम्स ७० बलमा १३ चौका र एक छक्काको मद्दतमा एक सय दई रनको पारी खेल्दै अविजित रहे ।
पहिलो इनिङमा नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ९९ रन जोडे । आसिफ शेख सँग कीर्तिमानी एक सय ७१ रनको साझेदारी गरेका कुशल आफ्नो करियरमै दोस्रो ओडीआई शतक पुरा गर्न भने एक रनले चुके ।
कुशलले आउट हुनु अघि ९५ बलमा १३ चौका र दुई छक्का प्रहार गरे । आसिफले सय बल खेल्दा सात चौकाको मद्दतमा ६६ रन बनाएर पेभेलियन फर्किए ।
कुशल मल्लले ४२ बलमा दुई चौका र तीन छक्कासहित ४१ रन जोडे । कप्तान रोहित पौडेल २९ बलमा पाँच चौकाको मद्दतमा ३१ रन जोडे । आरिफ शेख १० र गुल्सन १३ रनमा आउट भए ।
बलिङतर्फ जिम्बावेका रिचार्ड नगारभाले चार तथा वेलिङ्टन मस्कादाले दुई विकेट लिए ।
छनोटको दोस्रो खेल नेपालले जुन २० मो अमेरिका, तेस्रो जुन २२ मा वेस्ट इन्डिज र जुन २४ मा नेदरल्याण्ड्ससँग समूह चरणको अन्तिम खेल खेल्नेछ ।













