कैलाली । विश्वकप क्वालिफायरको उद्घाटन खेलमा नेपालले बलियो घरेलु टोली टेष्ट राष्ट्र जिम्बाबेलाई दुई सय ९१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । ओपनर जोडी कुशल भुर्तेल र आसिफ शेखले एक सय ७१ रनको किर्तिमानी साझेदारी गर्दै नेपाललाई विशाल लक्ष्य तर्फ अग्रसर गराए पनि पछिल्लो क्रमका ब्याट्सम्यानले राम्रो प्रहार गर्न नसक्दा नेपालले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९० रन मात्र बनाउन सक्यो । तर तुलनात्मक रुपमा बलियो टोलीसँग यो लक्ष्य खडा गर्नु राम्रो नै मानिन्छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले सुरुवातमा संयमता अपनाएर खेल्दै सुस्त गतिमा रन बटुल्यो तर जब ओपनर जोडी क्रिजमा जम्यो तब विशाल लक्ष्य तिर अग्रसर बन्यो । कुशल भुर्तेल र आसिफ शेखले ‘ड्रिम स्टार्ट’ दिलाएका थिए । उनीहरूले पहिलो विकेटका लागि एक ७१ रनको विशाल साझेदारी गरे, जुन एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा कुनै पनि विकेटका लागि नेपालले गरेको उच्च साझेदारी हो ।
आक्रामक अन्दाजमा खेलेका भुर्तेल दुर्भाग्यपूर्ण रुपमा ९९ रनमा आउट भए । वेलिङ्टन मासाकाद्जाको बलमा भुर्तेल बोल्ड भएपछि आसिफ पनि छिट्टै पेभिलियन फर्किए । उनी ६६ रनमा आउट भए ।
ओपनर जोडी फर्किएपछि कप्तान रोहित पौडेल र कुशल मल्लबीच ७१ रनको अर्को महत्वपूर्ण साझेदारी भयो । रोहितले २९ बलमा पाँच चौकासहित ३१ रन बनाए भने मल्लले ४२ बलमा ४१ रन प्रहार गरे ।
कुशल मल्ल आउट भएपछि भने नेपालको रन गति कम भयो । खासगरि अन्तिम पाँच ओभरमा नेपालले अपेक्षित रन बटुल्न सकेन । पछिल्ला ओभरहरुमा लगातार विकेट गुमाएपछि नेपाल तीन सय रनको कोसेढुंगा पार गर्न चुकेको होसकेन । आरिफ शेख १०, गुल्सन झा १३ र भीम सार्की शून्य रनमा आउट भएका थिए ।
बलिङतर्फ जिम्बावेका रिचार्ड नगारभाले चार तथा वेलिङ्टन मस्कादाले दुई विकेट लिए ।













