कैलाली । विद्यालय कर्मचारी परिषद्ले आजदेखि अनिश्चितकालीन रूपमा सामुदायिक विद्यालय बन्दको कार्यक्रम देश भरी सुरु गरेको भए पनि तत्काललाई स्थगित गरिएको जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति गठन गरेर वार्तामा आउन आमन्त्रण गरेपछि उक्त आन्दोलन स्थगित गरिएको एक संयुक्त विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
कर्मचारीहरूले आन्दोलन स्थगनपछि वार्ताको थप वातावरण बनेकाले आज दिउँसोदेखि वार्ता आरम्भ गर्ने मन्त्रालयबाट गठित वार्ता समितिका संयोजक एवं शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले सञ्चार माध्यमलाई बताएका छन्। वार्ता समितिमा अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव समेत प्रतिनिधि रहेका छन्।
परिषद्ले सरकारले वार्तामा आउन गरेको आग्रह र भावनालाई सम्मान गर्दै विगतमा भएको सहमति र सर्वोच्च अदालतको आदेशको पालना गराउने गरी वार्तामा बस्न आफूहरू तयार भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
परिषद् र सम्बन्धित संस्थाले आज मुलुकभरका सामुदायिक विद्यालय बन्दको कार्यक्रम घोषणा गरेका थिए। काठमाडौँ महानगरपालिका र कैलालीको मोहन्याल गाउँपालिकाले त्यसरी विद्यालय बन्द गराए कारबाही गर्ने चेतावनी समेत दिएको थियो।
विद्यालय कर्मचारीले मासिक आठदेखि १२ हजार पाँच सय पारिश्रमिकमा काम गर्नु परेको, सर्वोच्च अदालतको २०६७ माघ २३ को आदेश बमोजिम कर्मचारीको सेवा, शर्त, सुविधा उल्लेख गरी कानून बनाइ कार्यान्वयन गर्न आलटाल भएको, सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफूहरूको सुविधा बढाउने उल्लेख गरेर पनि बजेटमा कुनै सुनुवाइ नगरेको भन्दै आन्दोलन गर्दै आएका छन्।















