हाट बजारका लागि बनेका संरचना अलपत्र, खुला आकाश मुनि हाट बजार सञ्चालनमा

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका १, मा गत माघ १४ गते देखि शिव शक्ति सामुदायिक वनको समन्वयमा घोडाघोडी उद्योग वाणिज्य सङ्घको पहलमा सातामा दुई दिन कृषि हाट तथा थोक बजार सञ्चालनमा छ ।

नगर पालिकाको मुख्य बजार सुखड चोक स्थित हेलिप्याडमा कृषि हाट तथा थोक बजार सञ्चालनमा ल्याइएकाे थियाे । उक्त स्थानमा बेला बखत हुने मेला महोत्सवले गर्दा हाट बजार राजमार्ग छेउमा सारियो । हाट बजार सञ्चालन गर्दा उद्योग वाणिज्य सङ्घले दुई महिना भित्र व्यवस्थित तरिकाले सञ्चालन गर्न संरचना निर्माण गर्ने बताएको थियो । तर हाट बजार सञ्चालन भएको करिब पाँच महिना हुँदा समेत सम्बन्धित निकाय मौन देखिएको छ ।

खुला स्थानमा चिसो छल्दै  फलफूल तथा तरकारी बेचिरहेका किसान अहिलेको  चर्को गर्मी समेत खेपी रहेका छन् । लामो समय देखि पानी परेकाे छैन । दिनानुदिन तापक्रममा वृद्धि भइरहेका बेला घोडाघोडी क्षेत्रमा समेत ४० डिग्री भन्दा अधिक रहँदै आएको छ । किसानहरू उच्च तापक्रमलाई चुनौती दिँदै पाल मुनि बसेर दिनभरि जसो तरकारी तथा फलफूल बेचिरहेका छन् ।

प्रचण्ड गर्मीका कारण किसानले बिहान बारीबाट टिपेर ल्याएको तरकारी साँझसम्म ओइलाउँछ ।  जसले गर्दा ग्राहकले किन्न नमान्ने तथा सस्तो मूल्यमा दिनु पर्ने बाध्यता किसानलाई छ । गर्मीमा बसेर तरकारी बेच्दा पनि खुसी नै रहेको तर स्थानीय सरकारले सहजताका लागि कुनै पहल नगरी दिएको  घोडाघोडी ८ का किसान श्यामलाल चौधरीले  गुनासो गरेका छन् ।

साेही नगरवासी वडा नं. २ साडेपानीका कृषक कमला चौधरीले हाट बजार सञ्चालन भएपछि सहजता भएकाे तर चर्को गर्मीमा पनि खुला आकाशमा बसेर बिक्री गर्नु पर्दा दुःख भइरहेकाे बताएकी छन् । साथै उनले वर्षायाम सुरु भएकाे र अहिले हाटबजार सञ्चालन रहेकाे स्थानमा वर्षायाममा पानी जम्ने भन्दै टहरा बनाइदिन  स्थानी सरकारलाई आग्रह समेत गरेकी छन् ।

संरचना निर्माणका लागि उदासिन उद्योग वाणिज्य संघ

घाेडाघाेडी उद्योग वाणिज्य संघकाे पहलमा हाट बजार सञ्चालनमा आएकाे थियाे  । बजार सञ्चालन गर्दाका संघका अध्यक्ष दुर्गा प्रसाद गौतमले दुई महिना भित्र टनेल निर्माण गरेर खुला आकाशमा हाट बजार सञ्चालन गर्नु पर्ने बाध्यताको अन्त्य गर्ने बताएका थिए । तर करिब पाँच महिना बित्दा समेत अवस्था जस्ताको त्यस्तै छ । गौतमले सरोकारवाला निकायसँग छलफलमा जुटेकाे बताउँदै एक महिना भित्र यो समस्याको समाधान गर्ने आश्वासन दिइरहेका छन् ।

सुखड चोकदेखि उत्तर तर्फ करिब दुई किलोमिटरकाे दुरीमा हाट बजारका लागि बनेका संरचना प्रयोग बिहीन अवस्थामा छन् ।  सुदूरपश्चिम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको करिब ५० लाख लगानीमा उक्त संरचना एक वर्ष पहिले नै निर्माण गरिएका थिए । तर उक्त ठाउँ उपयुक्त नभएको र बनेका संरचनामा राजनीतिक स्वार्थ लुकेको भन्दै खुला आकाशमुनी हाट बजार सञ्चालनमा रहेको छ ।

Share