ग्लोबल क्वालिफाएरको पहिलो खेलमा आज नेपाल टेष्ट राष्ट्र जिम्बाबेको सामना गर्दै

तस्बिर : क्यान

कैलाली । आज देखि जिम्बाबेमा आईसीसी एक दिवसीय विश्व कप क्रिकेटको ग्लोबल क्वालिफाएर छनोट प्रतियोगिता सुरु हुँदै छ ।  प्रतियोगिताका लागि घरेलु टोली जिम्बाबेसँगै अन्य नौ टोली पनि त्यहाँ रहेका छन् । प्रतियोगितामा चार ओटा टेष्ट राष्ट्र र छ ओटा एसोसिएट राष्ट्रले सहभागिता जनाउने अवसर पाएका छन् । 

उद्घाटन खेलमा नेपालले आज बलियो घरेलु टोली जिम्बाबेसँग खेल्दैछ । नेपाली समय अनुसार दिउँसो पौने एक बजे हरारेमा सुरु खेल हुनेछ । उत्कृष्ट लयमा रहेको नेपाल आज आफूभन्दा निकै बलियो रहेको घरेलु टोलीलाई सरप्राइज दिँदै सुखद सुरुवात गर्ने तयारीमा रहेको छ । तर उसलाई जित्न नेपालका लागि त्यति सहज छैन् । जिम्बाबे पनि उत्कृष्ट लयमा रहेको छ । त्यति मात्रै हैन उसमा अनुभवको पनि कमी छैन् । नेपाली टोली भने युवा खेलाडीले भरिपूर्ण भएकाले अनुभवी टोलीसँग खेल्दा नेपाली खेलाडीमा अनुभव खड्किने छ । 

नेपाली क्रिकेट टोलीले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक टेष्ट मान्यता प्राप्त देशसँग अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्न लागेको हो । जिम्बाबेसँग नेपालले अहिलेसम्म एउटा मात्रै एकदिवसीय खेल खेलेकोमा एक सय १६ रनले पराजित भएको थियो । नेपालले उक्त खेल जिम्बाबेसँग सन् २०१८ मा खेलेको थियो । 

विश्व कप छनोट अघिका खेलमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा निकै राम्रो नतिजा निकालेको छ । नेपालले विश्व कप छनोटमा स्थान बनाउन आईसीसी विश्व कप लिग दुईमा पछिल्ला १२ मध्ये ११ खेलमा जित निकालेको थियो । नेपालले पछिल्ला १७ एकदिवसीय खेल खेल्दा १७ मध्ये १६ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा जित निकालेको छ ।

यस्तै, एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने पक्का पनि गरिसकेको छ । सन् २०१८ मा एकदिवसीय मान्यता प्राप्त गरेदेखि नेपालले ५१ ओटा एकदिवसीय खेल खेलेकोमा २८ ओटा खेलहरू जितेको छ, २१ ओटामा हार बेहोरेको छ । एक बराबरी भएको र एक खेल वर्षाको कारण रद्द भएको छ ।

यो प्रतियोगितामा भने नेपाललाई उक्त लय कायम राख्न निकै चुनौति पनि रहेको छ । त्यसमाथि जिम्बाबेको मैदानमा पहिलो पटक खेल्दा नेपाली ब्याट्सम्यानलाई क्रिजले कति साथ नदेला भन्ने चिन्ता एक तिर छ भने उता बलिया अनुभवी टोलीलाई परास्त गर्नु पर्ने चुनौति छ । त्यसमा पनि युवा खेलाडीमा अनुभवको अभाव खड्किने छ । तर प्रशिक्षक मोन्टी देसाइले आफ्ना वास्तविक रणनीतिको छवि त्यहाँ देखाउनु पर्ने छ । सम्भव त देसाइले त्यो रणनीति बनाइ सकेका छन् । अव मैदान प्रवेश गर्दा खेलाडीले त्यसको सदुपयोग कसरी गर्ने छन् भन्ने कुरा मात्र बाकी छ ।

आज पनि सम्भव त देसाइले पछिल्लो समय निरन्तर उतार्दै आएको अन्तिम ११ लाई नै मैदानमा उतार्ने छन् । बलिङ तर्फ मुख्य हतियार मानिएको सोमपाल कामीलाई अर्को इन्डबाट सघाउन करण केसी आउने छन् । यदि गुल्सन झा पनि अन्तिम ११ मा परेको खण्डमा उनले पनि करणसँगै अर्को इन्डबाट सोमपाललाई साथ दिने छन् । उनी आजको अन्तिम ११ मा सकभर त स्थान बनाउने छन् । किन त भन्दा दिपेन्द्र सिंह ऐरीले पछिल्लो समय ब्याटिङमा आफ्नो लय गुमाएका छन् । त्यसकारण झा बेलाबखत टोलीका लागि एक बलियो खम्बा बनेर उभिने गरेका छन् । 

तिव्र गतिमा एक जना सोमपालले बलिङ गर्दा उनलाई साथ दिने मध्यम गतिमा करण बाहेक टोलीमा अन्य खेलाडी छैनन् । त्यसकारण उनी आज सम्भवतः पर्ने छन् । बेला बखत आरिफ शेखले पनि सहयोग गरि रहने छन् । उता स्पिनमा भने युवा स्टार पूर्वकप्तान अनुभवी खेलाडी सन्दीप लामिछानेले आज आफ्नो जादुमय प्रदर्शन गर्नु पर्ने छ ।  उनलाई अर्को इन्डबाट पछिल्ला खेलमा निकै लयमा रहेका ललित नारायण राजवंशीले साथ दिने छन् भने कुशल मल्लले पनि त्यसमाथि केही इँटा थप्ने कार्य गर्ने छन् ।  तर नेपाली बलरलाई चुनौति दिन जिम्बाबेका सिकन्दर राजा एक्लै भरपुर आफ्नो अनुभव प्रयोग गर्ने छन् । उनी एक्लैले नेपाली बलरलाई निरुत्साहित पार्न सक्ने सामर्थ्य भएका खेलाडी हुन ।

यता नेपाली युवा जोशमा पनि जिम्बाबेका बलरलाई चुनौति दिने तयारी छ । ओपनिङमा कुशल भुर्तेल र आसिफ शेखले टोलीलाई सम्हाल्दा तेस्रो स्थानमा कुशल मल्ल र भीम सार्की मध्ये एक जना आउने छन् । सार्की तेस्रोमा आउँदा मल्ल पाचौँमा र मल्ल तेस्रोमा आउँदा सार्की पाचौँमा क्रिजमा पस्ने छन् । विपक्षी टोलीका बलर माथि जाई लाग्न दिँदै निकै सिपालु मल्ल यहाँ पनि आफ्नो उक्त क्षमता देखाउने छन् । यस्तै जोन्टी उपनामले चर्चित सार्की पनि विपक्षी बलरलाई चुनौति दिन निकै सिपालु छन् । यस्तै चौथोमा कप्तान रोहित कुमार पौडेल क्रिज प्रवेश गर्दै टोलीलाई झनै राहत दिने छन् । 

त्यसै गरि छैटौँ स्थानमा आरिफ शेख मैदान प्रवेश गर्दा सातौँमा गुल्सन टोलीमा परे गुल्सन नत्र दिपेन्द्र आउने छन् । यदि झा टोलीमा परेको खण्डमा उनी जुनसुकै स्थानमा पनि आफूलाई सावित गर्न सक्ने भएकाले उनलाई प्रशिक्षकले अवस्था हेरेर स्थान परिवर्तन गरि पठाउन सक्ने छन् । पछि आउने लामिछाने, कामी, केसी पनि टोलीलाई फिनिसिङमा राम्रै प्रदर्शन गर्ने सामथ्र्य राख्छन् । प्रशिक्षकले आफ्नो रणनीति प्रयोग गर्दै खेलाडीलाई खटाउने छन् । 

आजदेखि सुरु हुने विश्व कप छनोटमा नेपाल रहेको समूहमा जिम्बाबेसँगै अर्को तुफानी टोली वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् । नेपालभन्दा निकै बलिया देश भएकाले नेपाललाई पछिल्लो समयको उत्कृष्ट लय कायमै राख्न मुख्य चुनौती छ ।

समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा भारतमा हुने एकदिवसीय विश्व कपमा स्थान बनाउने छन् ।

Share