कैलाली । नेपाल विद्यालय कर्मचारी परिषद्ले असार तीन गते आइतबारदेखि देशैभरका सामुदायिक विद्यालयहरू अनिश्चित कालका लागि बन्द गर्ने चेतावनी दिएको छ । गत जेठ १७ गतेबाट पेसागत स्थायित्वको माग राख्दै विद्यालयका कर्मचारी र प्रारम्भिक बाल विकास (ईसीडी) शिक्षकहरू आन्दोलित छन् ।
सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको सेवा सुविधाका विषयहरू सम्बोधन गरिने उल्लेख गरिएको थियो । तर जेठ १५ गते सङ्घीय संसद्मा प्रस्तुत बजेटमा समावेश नगरिएको भन्दै परिषद्को अगुवाइमा गत जेठ १७ गते आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको थियो । सोही अनुरूप काठमाडौँका विभिन्न स्थानमा कर्मचारीहरू आन्दोलित छन् । आन्दोलनलाई साथ दिन सबै स्थानीय पालिकामा पनि धर्नाका कार्यक्रम गर्दै आएका थिए ।
दोस्रो चरणका कार्यक्रमहरू सम्पन्न हुन लाग्दा समेत सरकार गम्भीर नभई उल्टै शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको भन्दै असार तीन गते देखि अनिश्चितकालीन सामुदायिक विद्यालय बन्द गर्ने जनाएको छ ।













