काठमाडौँ । नेपाली वेब श्रृंखलाका मुख्य आठ जना कलाकारहरूलाई ‘वान एक्स बेट’को नेपालमा अवैध प्रचारमा संलग्न भएको भन्दै प्रहरीले बिहीबार पक्राउ गरेको छ । काठमाडौँ उपत्यका प्रहरी अनुसन्धान कार्यालयको टोलीले बेटिङ प्रचार गरेको आरोपमा कलाकारहरूदेखि युट्युबर र टिकटकरलाई पक्राउ गरेको जनाएको छ ।
उपत्यका प्रहरी अनुसन्धान कार्यालयका अनुसार कलाकारहरू मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर), बेगम नेपाली (भटभटे) पवन खतिवडा (म्याकुरी), एलिश राई, गणेश देवकोटा (जीडी), जालन घर्ती मगर र सरोज घिमिरे (ढेडु बुडो) पक्राउ परेका छन् ।
उनीहरूले सोझा मानिसहरूलाई गेम खेलेर वा गेमको प्रेडिक्सन गरेर घरमै बसीबसी पैसा कमाउन सकिने लोभ देखाउने गरेका छन् । यसका लागि उनीहरूले आफ्नो युट्युब च्यानलमा अपलोड भएका भिडियो वा डिस्क्रिप्सनमा बेटिङ एपको प्रोमो कोडसहित त्यससम्बन्धी प्रचार सामग्री राख्ने गरेका छन् ।
युट्युब च्यानलमा नेपालमा अवैध ‘वान एक्स बेट’को प्रचार गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिएको अनुसन्धानमा संलग्न एक अधिकारीले सञ्चार माध्यमलाई जानकारी दिएका छन् । अन्य व्यक्तिहरूलाई पनि पक्रिने तयारी भइरहेको जनाएको छ ।













