वार्मअपको पहिलो भिडन्तमा पराजय भोगेको नेपाल आज ओमानको सामना गर्दै

तस्बिर : क्यान

कैलाली । यति खेर नेपाली पुरुष क्रिकेट टोली आईसीसी एक दिवसीय विश्वकपको ग्लोबल क्वालिफाएर छनोट प्रतियोगिता खेल्न जिम्बाबेमा रहेको छ । सो प्रतियोगिता खेल्नु अघि नेपालले दुईओटा वार्म अप अभ्यास खेल्ने तालिका रहेको थियो । जस अनुरूप नेपालले मंगलबार युएईसँग आफ्नो पहिलो खेल खेल्यो त्यसमा नेपाल तीन विकेटले पराजित हुन पुग्यो ।

पछिल्लो समय नेपाली टोली युएई भन्दा निकै बलियो देखिएको थियो तर पहिलो वार्म अपमा भने युएईले सबै हारको बदला एकै पटक लिँदै जिम्बाबेको मैदानमा सुखद सुरुवात ग¥यो । हुन त यस खेलले हार जितको कुनै अर्थ पनि राख्ने छैन् तर उक्त मैदानमा खेलाडीको प्रदर्शन कस्तो रहने भन्ने निर्धारण भने यस्तै खेलहरूले गरि रहेको हुन्छ । पहिलो वार्म अपमा पनि नेपालले खराब प्रदर्शन गरेको भने थिएन । ४९ ओभर पाँच बलमा सबै विकेट गुमाएर दुई सय ७६ रनको योगफल तयार गरेको थियो । उक्त लक्ष्य युएईले पनि ४९ ओभर पाँच बलमा सात विकेट गुमाएर लक्ष्य पुरा ग¥यो

लिग दुईको अन्त्य अन्त्य देखि युएई माथि हावी भएको नेपाल अन्ततः पराजित हुन पुगेको छ । केही लय गुमाउँदै गएको नेपाली टोलीले पछिल्लो समय ग्लोबल क्वालिफाएर खेल्नु अघि खेलेका तीन ओटा खेल मध्ये तीन ओटैमा हार बेहोरेको छ । विश्व लिग दुईको अन्त्य तिर खेलेका १२ मध्ये ११ खेलमा जित हात पार्दै नेपाली टोलीले आफूलाई बलियो प्रमाणित गरेको थियो तर केही समय यता फेरि लय बिर्सिएको हो कि भन्ने चिन्ता आम खेल प्रेमीमा परेको छ ।

पहिलो वार्म अपमा तीन विकेटले पराजित भएको नेपाली टोली आज आफ्नो दोस्रो तथा अन्तिम खेलमा बलियो टोली ओमानको सामना गर्ने समय तालिका रहेको छ । ओमान पनि पहिलो खेलमा घरेलु टोली जिम्बाबेसँग २८ रनले पराजित भएको थियो । त्यसैले आज दुबै टोली जिम्बाबेको मैदानमा पहिलो जितको खोजीमा रहेका छन् । आजको खेल आफ्नो पक्षमा पार्दै त्यसपछि क्वालिफाएरका लागि असार तीन गतेको तयारीमा व्यस्त हुने छन् ।   

Share