कैलाली । नेपाली पुरुष क्रिकेट टोली आईसीसी एक दिवसीय विश्वकपको ग्लोबल क्वालिफाएर छनोट प्रतियोगिता खेल्न जिम्बाबेमा रहेको छ । त्यसतर्फ नेपाली टोली आइतबार गएको थियो । सके विश्वकपमा छनोट हुने नसके सुपर सिक्ससम्म पुग्ने लक्ष्यका साथ टोली जिम्बाबेमा रहेको छ । उक्त प्रतियोगिता खेल्नु अघि नेपालले दुईओटा वार्मअप अभ्यास खेल्ने तालिका रहेको छ ।
एसोसिएट राष्ट्रका बलिया मानिएका दुई टोली ओमान र युएईसँग खेल्ने नेपालको समय तालिका रहेको छ । उक्त अभ्यास खेल क्वालिफाएर प्रतियोगिताको तयारी स्वरुप हेरिएको छ । सोही समय तालिका अनुसार आज नेपालले निकै बलियो मानिएको युएईसँग खेल्ने भएको छ । खेल नेपाली समयअनुसार जिम्बाबेको ओल्ड हरारियन्स रङ्गशालामा दिउसो पौने एक बजे सुरु हुने छ ।
आजको खेल जित्दै नेपाली टोली जिम्बाबेको मैदानमा सुखद सुरुवात गर्ने लक्ष्यका साथ मौन प्रवेश गर्ने छ भने उता युएई भने नेपालसँग एसीसी प्रिमिएर कप र विश्वकप लिग दुई मा हारेको हारको बदला लिने दाउमा रहेको छ ।
पछिल्लो समय नेपाली टोली युएई भन्दा निकै बलियो देखिएको छ । लिग दुईको अन्त्य तिर खेलेका चार खेलमा नेपाल एक खेलमा मात्र पराजित भएको थियो बाँकी चार खेलमा नेपालले आफ्नो पक्षमा खेल पारेको थियो । यस्तै एसीसी प्रिमिएर कपमा पनि नेपालले युएईलाई पाखा लगाउँदै उपाधि उचाल्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको थियो । युएईलाई ति हारका घाउ अझै ताजै छन् उ आजको वार्मअपमा नेपाललाई पाखा लगाउँदै केही हदसम्म भए पनि घाउमा मलम पट्टि लगाउन चाहन्छ । तर नेपाल उक्त घाउमा झनै नुन चुक छर्किने दाउमा रहेको छ । नेपालको त्यही टोली युएई पुगेको छ जुन टोलीले ग्लोबल क्वालिफाएरमा छनोट हुँदा होस एसिसीको उपाधि उचाल्दा होस युएईलाई पाखा लगाएको थियो ।
युवा खेलाडीले भरिपूर्ण नेपाली टोलीमा बलिङ, ब्याटिङ, फिल्डिङ सबै उत्कृष्ट रहेको छ । जसले गर्दा युएईलाई एक किसिमको त्रास रहेको छ । तर युएई पनि विश्वकपमा स्थान बनाउने उद्देश्यले जिम्बाबे पुगेको छ । उसले पनि मोहम्मद वासिमको कप्तानीमा युवा खेलाडीलाई समेटेर त्यहाँ पुगेको छ । जसले नेपाललाई थप चुनौति त रहेको छ नै । नेपाली बलरलाई कप्तान वासिम, अलि नजिर, आयान खान, आसिफ खान, रोहन मुस्तफा जस्ता ब्याट्सम्यानले कडा चुनौति दिने छन् । उनीहरूको ब्याटिङ ध्वस्त पार्न नेपालका स्टार स्पिनर पूर्वकप्तान सन्दीप लामिछाने, ललित नारायण राजवंशी, तिव्र गतिका बलर सोमपाल कामी, मध्यम गतिका बलर करण केसी र गुल्सन झाले भरपुर कोसिस गर्ने छन् ।
यता युएईका बलरलाई दबाबमा राख्न नेपालका युवा ब्याट्सम्यान पनि निकै तम्सिएका छन् । कप्तान रोहित कुमार पौडेल, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आसिफ शेख, आरिफ शेख अझ त्यसमै राहत थपी दिने छन् गुल्सन झा । नेपाली ब्याट्सम्यानलाई रोक्न युएईका बलर पनि सक्दो कोसिस गर्ने छन् । जसमा आसिफ खान, रोहन मुस्तफा, जाहुर खान, बसिल हमिद मुहम्मद जावदुल्लाह जस्ता बलरले दवाब दिने छन् । दुवै टोली युवा खेलाडीले भरिपूर्ण रहेकाले खेल रोमान्चक हुने अनुमान पनि दर्शकले गरेका छन् । तर आजको वार्मअपमा भने दुवै टोलीले आफ्नो उत्कृष्ट टोली मैदान उतार्ने छन् या त उतार्ने छैनन् त्यो भने अन्तिम निर्णय दुबै टोलीका प्रशिक्षकले आफ्नो टालीको निर्णय गर्ने छन् ।
जिम्बाबेको पिचले नेपाली खेलाडीलाई साथ देला ?
पछिल्लो समय निकै सुधारात्मक अवस्थामा रहेको नेपाली टोलीको ब्याटिङ साँच्चै लोभ लाग्दो नै रहेको थियो तर जेठ २५ र २७ गते दक्षिण अफ्रिकाको मैदानमा नेदरल्याण्ड्स र स्कटल्यान्डसँग खेलेको खेलमा भने नेपालको गति नाजुक अवस्थामा रह्यो । नेपाल दुबै खेल हार्न पुग्यो ।स्कटल्यान्डविरुद्ध नेपाल २८ ओभर पाँच बलमा एक सय ३५ रनमै अलआउट भयो । कुशल मल्लले आक्रामक ३७ रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । एक सय ३७ रनको झिनो लक्ष्य स्कटल्यान्डले मात्र तीन विकेटको क्षतिमा भेट्टायो । नेपालले ३५ रनमै तीन विकेट लिएको भए पनि त्यसपछि स्कटल्यान्डका ब्रान्डेन म्याकमुलन र रेची बेरिङटनले अविजित साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याएका थिए ।
दोस्रो खेलमा नेदरल्यान्डस्विरुद्ध पनि नेपालले सन्तोषजनक ब्याटिङ गर्न सकेन । यस खेलमा कुशल मल्ललाई बेञ्चमा राखिएको थियो । नेपालले ३६ ओभर पाँच बलमा सबै विकेट गुमाएर एक सय ५६ रन मात्रै जोड्न सक्यो । नेदरल्याण्ड्सले ३६ ओभर एक बलमा पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
अभ्यास खेल भएकाले नेपालले आफ्नो ‘अन्तिम ११’ को टोली त खेलाएको थिएन, तर मुख्य ब्याट्सम्यानहरूले नै रन बनाउन संघर्ष गर्दा जिम्बाबेको टुरअघि समर्थकहरू तनावमा परेका छन् । जितहारभन्दा पनि विदेशी मैदानमा चल्न नसक्ने नेपाली ब्याट्सम्यानहरूको पुरानै कमजोरी देखिनु चिन्ताको विषय बनेको छ । अभ्यास खेल भएकाले त्यो हारजितले कुनै महत्व त राख्दैन, तर विदेशी भूमिमा नेपालले आफ्नो ब्याटिङ स्तरमाथि उकास्न बाँकी नै रहेको बोध भने पक्कै भएको छ ।
जिम्बाबेको जस्तै ‘कन्डिसन’ हुने भएकाले नेपालले अभ्यासका लागि दक्षिण अफ्रिका रोजेको थियो । यदि साँच्चै जिम्बाबेको पिच यस्तै हुने हो भने नेपाली ब्याट्सम्यानले बलिया टोलीहरुविरुद्ध के गर्लान् ? भन्ने प्रश्न उठ्छ । नेपालले पहिलो पटक यस प्रतियोगितामा टेस्ट मान्यता प्राप्त टोलीहरु जिम्बाबे र वेस्ट इन्डिजसँग भिड्ने मौका पाएको छ । दुईमध्ये कम्तिमा एउटा टोलीविरुद्ध सरप्राइज नतिजा निकाल्ने लक्ष्य नेपालको रहेको छ ।
घरेलु मैदानमा भएका पछिल्ला प्रतियोगिताहरूमा नेपालका ब्याट्सम्यान र बलरले उत्कृष्ट प्रदर्शन गरिरहेका थिए । नेपालको ब्याटिङ स्तर निकैमाथि उठेको महसुस भएको थियो, चाहे त्यो एक दिवसीयमा होस वा टी२० मा । नेपालले अविश्वसनीय प्रदर्शन गर्दै विश्वकप लिग दुई अन्तर्गत पछिल्ला १२ मध्ये ११ खेल जितेर यो क्वालिफायरमा स्थान बनाएको हो । आजको खेलमा पिचलाई नियालेर खेल्न सके क्वालिफाएरका खेलमा नेपाली खेलाडीलाई त्यति गाह्रो हुने छैन् । यति आज खेलाडीले संयमता अपनाउन नसकेमा ग्लोबल क्वालिफाएर नेपालका लागि साँच्चै फलामका चिउरा चपाउनु सरह नै हुने छ ।













