कैलाली । आउँदो असार तीन गते आइतबार देखि सुरु हुने आईसीसी एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायर छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आइतबार दक्षिण अफ्रिकाबाट जिम्बावे प्रस्थान गरेको छ ।
जेठ १६ गते दक्षिण अफ्रिका गएको नेपाली टोलीले त्यहाँ दश दिन तयारी गरेपछि टोली उतैबाट हिजो जिम्बावे गएको हो । दक्षिण अफ्रिकामा नेपाली टोलीले नेदरल्याण्ड्स र स्कटल्यान्डसँग एक एक अभ्यास खेल खेल्यो । दुर्भाग्यवस नेपाली टोलीको लयमा रहेको ब्याटिङ उक्त क्रिजमा धर्मराउँदा नेपालले दुवै खेलमा हार बेहोर्नु प¥यो । नेपालले उक्त अभ्यास खेलमा आफ्नो पूर्ण टोलीलाई त अन्तिम ११ मा राखेको थिएन तर टोलीका लागि मुख्य हतियार मानिएका खेलाडीको ब्याडबाट नै रन बन्न नसक्दा आम खेल प्रेमीमा डर पैदा भएको छ ।
टीयू मैदानमा चलेको नेपाली ब्याट्सम्यानको ब्याटिङको अपेक्षा गरि रहेका खेल प्रेमीले अभ्यास खेलमा त्यो अनुभुति गर्न पाएनन् । हुन त अभ्यास खेलले त्यति फरक केही पर्दैन तर टोलीको ब्याटिङ नचलेकाले जिम्बाबेमा पनि त्यस्तै हुने हो कि भन्ने डर आम नेपाली समर्थकमा रहेको छ । दक्षिण अफ्रिका र जिम्बावेको क्रिज लगभग उस्ता उस्तै हुने भएकाले नेपाली टोलीले त्यहाँ गएर अभ्यास खेलका साथै तयारी गरेको थियो ।
असार तीन गते सुरु हुने प्रतियोगिता अगाडि नेपालले जेठ ३० र ३२ गते ओमान र युएईसँग अभ्यास खेल खेल्ने समय तालिका रहेको छ । जसलाई वार्मअप नाम दिइएको छ । उक्त अभ्यास खेल अन्तर्गत जेठ ३० गते युएईको सामना गर्दा जेठ ३२ गते ओमानसँग भिड्ने भएको छ । उक्त खेल नेपालले विश्वकपको तयारी स्वरुप खेल्ने छ ।
तीन गते देखि सुरु हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘ए’ मा रहेको छ । समूह ‘ए’ मा नेपालसहित, दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका रहेका छन् । यस्तै समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेलमा १८ जुन अर्थात असार तीन गते बलियो टोली आयोजक जिम्बावेको सामना गर्ने छ । यस्तै दोश्रो खेल २० जुनमा (असार पाँच) अमेरिका, तेस्रो खेल २२ जुनमा दुई पटकको विश्वकपको उपाधि विजेता वेस्ट इन्डिज (असार ७) र चौथो तथा समूह चरणको अन्तिम खेलमा २४ जुनमा (असार ९) नेदरल्याण्ड्ससँग खेल्नेछ ।
दुवै समूहका टोलीले आफ्नो समूहमा एक आपसमा लिग खेलपछि सुपर सिक्स हुनेछ । सुपर सिक्समा दुवै समूहका शीर्ष तीन/तीन टोली पुग्नेछन् । सुपर सिक्समा एक समूहका तीन शीर्ष टोलीले अर्को समूहका शीर्ष तीन टोलीसँग प्रतिस्पर्धा गर्ने छन् । जहाँ शीर्ष दुईमा पर्न सक्ने दुइ टोली आगामी अक्टोबर/नोभेम्बरमा भारतमा हुने आईसीसी विश्वकप क्रिकेटमा छनोटको यात्रामा रहने छन् ।
नेपाललाई चुनौति कुन टोलीसँग ?
विश्वकप छनोटको दौडानमा दक्षिण अफ्रिका पुगेको नेपाली टोलीबाट आम नेपाली खेल प्रेमीले ठुलो आशा राखेका छन् । तर आशा राखे अनुरूप नेपाली टोलीलाई सहज भने छैन किनकि समूह चरणमा नै नेपालका लागि ठुलो पहाड बनेर बसेको छ दुई पटकको विश्व विजेता टोली वेस्ट इन्डिज । उ नेपालभन्दा तुलनात्मक रुपमा निकै बलियाृ मानिएको छ । यस्तै अर्को चुनौति घरेलु टोली नै रहेको छ । जिम्बाबे पनि आफैमा एक मजबुत टोली हो । उ पनि नेपालभन्दा तुलनात्मक रुपमा बलियो नै रहको छ । तर नेपाली टोली पनि कमजोर त आफैमा छैन् ।
विश्वकप छनोटकै दौडानमा खेलेका १२ मध्ये ११ मा जित निकाल्दै आफूलाई प्रमाणित गर्दै आएको छ । जसले गर्दा वेस्ट इन्डिज र जिम्बाबेलाई पनि डर त नेपालकै छ । त्यसमाथि पनि विश्वका विभिन्न देशमा गई दर्जनौँ लिग खेलेका लेग स्पिनर पूर्वकप्तान सन्दीप लामिछाने माथि विपक्षी टोलीको नजर रहेको छ । उनको त्रास विपक्षी टोलीमा निकै रहेको छ । त्यस्तै युवा खेलाडीले भरि पूर्ण नेपाली टोली आफैमा एक सक्षम टोली बनेको छ । त्यसमाथि मुख्य प्रशिक्षक मोन्टी देसाइको प्रशिक्षणबाट थुप्रै अनुभव बटुल्न पाएका युवा खेलाडीले आफ्नो जोशको करामत जिम्बाबेको मैदानमा विपक्षी माथि देखाउने छन् ।
त्यसो भए अनुभवको कमी छैन् त नेपाली टोलीमा ?
अहिलेको नेपाली क्रिकेट टोली आफैमा एक मजबुत टोली हो नै यसमा कुनै शंकै छैन् । सबै युवा जोशजाँगर भएका खेलाडी भएकाले आफूलाई प्रमाणित गर्ने नै छन् । पूर्वकप्तान सन्दीप लामिछाने पनि आफ्नो भए भरको अनुभव एक पटक मैदानमा देखाउने छन् । उनले पछिल्लो समय बलिङबाट मात्र नभई ब्याटिङबाट पनि आफूलाई प्रमाणित गरि रहेका छन् । सबै युवा खेलाडी भएका र धेरै बाहिर गएर त्यति खेल्ने अवसर नपाएकाले अनुभवको अभाव त नेपाली टोलीमा खड्किने नै छ किनभने विश्व विजेता टोलीसँग भिड्नु पर्ने छ । सन् २०१४ को टी २० विश्वकप खेल्ने दुई जना खेलाडी पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र तीव्र गतिका बलर सोमपाल कामी मात्र यति बेला टोलीमा रहेका छन् । त्यति बेलाका केही खेलाडीले सन्यास नै लिइ सकेका छन् भने कति खेलाडीले लय गुमाउँदा टोलीमा मौका पाएका छैनन् । यति वेला मल्ल पनि त्यति लयमा छैनन् त्यस कारण उनले अन्तिम ११ मा मौका पाउने नपाउने अहिले नै यसै भन्न सकिने अवस्था छैन् ।
उनको ब्याटबाट रन बनि रहेको छैन् यस अवस्थामा लयमा रहेका युवा खेलाडीलाई प्रशिक्षकले अन्तिम ११ मा मौका दिन सक्छन् । अर्का अनुभवी पूर्व उपकप्तान दीपेन्द्र सिंह ऐरी पनि यति खेर लयमा रहेका छैनन् । उनको ब्याटबाट पनि रन बनि रहेको छैन् । बलिङबाट भने उनले आफूलाई प्रमाणित गरि रहेका छन् तर यहाँ बलिङ भन्दा पनि ब्याटिङको खाँचो छ । यस्तो अवस्थामा ऐरी पनि अन्तिम ११ मा पर्ने नपर्ने टुङ्गो छैन् । यसरी अनुभवी खेलाडीले लय गुमाउँदा टोलीमा ठुलो चुनौति त थपिएको छ नै । ऐरीको ब्याट नचल्दा उनको स्थान गुल्सन झाले लिने निश्चित छ किनकी उनी पछिल्लो समय आफूलाई बलिङ र ब्याटिङबाट प्रमाणित गर्दै आएका छन् । टोली धाराशयी स्थितिमा पुगेका वेला उनले निकै राहत दिने गर्दछन् । त्यसै पनि ऐरी स्पिन बलर हुन टालीमा स्पिन भन्दा पनि फास्ट बलरको खाँचो रहेको छ । स्पिनरमा त स्टार सन्दीप लामिछाने र ललित नारायण राजवंशी निकै लयमा रहेका छन् । यस्तै कुशल मल्ल पनि स्पिनर नै हुन् । उता फास्ट बलिङ तिर मुख्य हतियार मानिएका सोमपाल कामीलाई एउटा इण्डबाट सघाउन करण केसी र झा को महत्वपूर्ण साथ हुनु पर्ने छ । पार्ट टाइम आरिफ शेखले पनि मिडियम फास्ट बलिङ गरेर अप्ठ्यारो स्थितिमा रहेको टोलीलाई केही राहत दिने काम गर्दछन् ।
यस्तै ब्याटिङ तर्फ कुशल भुर्तेल र आसिफ शेखले ओपनिङमा सम्हाल्दा तेस्रो स्थानमा भीम सार्की र कुशल मल्ल मध्ये एक जना आउने छन् । यस्तै चौथो स्थानमा कप्तान रोहित कुमार पौडेर मैदान प्रवेश गर्दा पाँचौँ स्थानमा तेस्रो स्थानमा मल्ल गए यहाँ सार्की र सार्की तेस्रोमा गए यहाँ मल्ल आउने छन् । यस्तै छैटौँ स्थानमा आरिफ शेख आउँदा सातौँ स्थानमा झा आउने छन् । अवस्था हेरेर झालाई प्रशिक्षकले केही अगाडि पनि पठाउन सक्छन् । आठौँ स्थानमा प्रशिक्षकले अवस्था हेरी खेलाडी पठाउने छन् । आठौँ मा लामिछाने मैदान जाँदा नवौँमा सोमपाल र करण मध्ये एक जाने छन् । यसरी रोलक्रम मिलाउँदा खेलाडीले आफ्नो पोजिसनमा अडिक रहेर खेल्न सक्यो भने विपक्षी टोली धाराशयी बन्ने छ । फेरि ब्याटिङमा आफूलाई प्रमाणित गर्दै आएका जोन्टी उपनाम पाएका भीम सार्की आफूलाई फिल्डिङमा समेत प्रमाणित गर्ने छन् । उनको लोभ लाग्दो फिल्डिङको विपक्षी टोलीले समेत प्रशंसा गर्ने गर्दछन् ।
एक पटक इतिहास रच्ने दाउमा नेपाली टोली रहेको छ । प्रशिक्षक मोन्टी देसाइले पनि युवा खेलाडी रहेको नेपाली टोलीले राम्रो नतिजा दिने आशय व्यक्त गरि रहेका छन् । उनी नेपाली टोलीको प्रशिक्षकमा नियुक्त भएपछि नेपालले ९७ प्रतिशत खेलको नतिजा आफ्नो हात पारेको छ । टीयू मैदानमा गत बैशाखमा सम्पन्न एसीसी प्रिमिएर कपको उपाधि उचाल्दै एसिया कपमा समेत नेपालले आफ्नो स्थान सुरक्षित गरि सकेको छ । जसमा भारत र पाकिस्तानसँग खेल्ने समेत पक्का छ । त्यसैले पनि यो टोली प्रशिक्षकको नजरमा रहेको छ ।
दक्षिण अफ्रिकाको पिचमा नचलेको ब्याटिङ होला त सुधार ?
इतिहासमै शानदार लयमा रहेको नेपालको ब्याटिङ दक्षिण अफ्रिकाको बलिङ मैत्री पिचमा धर्मरायो । अभ्यास खेल भएकाले नेपालले आफ्नो ‘अन्तिम ११’ को टोली त खेलाएको थिएन, तर मुख्य ब्याट्सम्यानहरूले नै रन बनाउन संघर्ष गर्दा जिम्बाबेको टुरअघि समर्थकहरू तनावमा परेका छन् । जित-हारभन्दा पनि विदेशी मैदानमा चल्न नसक्ने नेपाली ब्याट्सम्यानहरूको पुरानै कमजोरी देखिनु चिन्ताको विषय बनेको छ ।
नेदरल्याण्ड्स र स्कटल्यान्डविरुद्ध खेलेका दुवै खेलमा नेपालले पहिले ब्याटिङ गरेको थियो । स्कटल्यान्डविरुद्ध नेपाल २८ ओभर पाँच बलमा एक सय ३५ रनमै अलआउट भयो । कुशल मल्लले आक्रामक ३७ रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । एक सय ३७ रनको झिनो लक्ष्य स्कटल्यान्डले मात्र तीन विकेटको क्षतिमा भेट्टायो । नेपालले ३५ रनमै तीन विकेट लिएको भए पनि त्यसपछि स्कटल्यान्डका ब्रान्डेन म्याकमुलन र रेची बेरिङटनले अविजित साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याएका थिए ।
दोस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध पनि नेपालले सन्तोषजनक ब्याटिङ गर्न सकेन । यस खेलमा कुशल मल्ललाई बेञ्चमा राखिएको थियो । नेपालले ३६ ओभर पाँच बलमा सबै विकेट गुमाएर एक सय ५६ रन मात्रै जोड्न सक्यो । नेदरल्याण्ड्सले ३६ ओभर एक बलमा पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
अभ्यास खेल भएकाले यो हारजितले कुनै महत्व त राख्दैन, तर विदेशी भूमिमा नेपालले आफ्नो ब्याटिङ स्तरमाथि उकास्न बाँकी नै रहेको बोध भने पक्कै भएको छ ।
जिम्बाबेको जस्तै ‘कन्डिसन’ हुने भएकाले नेपालले अभ्यासका लागि दक्षिण अफ्रिका रोजेको थियो । यदि साँच्चै जिम्बाबेको पिच यस्तै हुने हो भने नेपाली ब्याट्सम्यानले बलिया टोलीहरुविरुद्ध के गर्लान् ? भन्ने प्रश्न उठ्छ । नेपालले पहिलो पटक यस प्रतियोगितामा टेस्ट मान्यता प्राप्त टोलीहरू जिम्बाबे र वेस्ट इन्डिजसँग भिड्ने मौका पाएको छ । दुईमध्ये कम्तिमा एउटा टोलीविरुद्ध सरप्राइज नतिजा निकाल्ने लक्ष्य नेपालको रहेको छ ।
घरेलु मैदानमा भएका पछिल्ला प्रतियोगिताहरूमा नेपालका ब्याट्सम्यान र बलरले उत्कृष्ट प्रदर्शन गरिरहेका थिए । नेपालको ब्याटिङ स्तर निकैमाथि उठेको महसुस भएको थियो, चाहे त्यो एक दिवसीयमा होस वा टी२० मा । नेपालले अविश्वसनीय प्रदर्शन गर्दै विश्वकप लिग दुई अन्तर्गत पछिल्ला १२ मध्ये ११ खेल जितेर यो क्वालिफायरमा स्थान बनाएको हो । विश्वकपमा छनोट हुन नसके पनि कम्तिमा क्वालिफायरको सुपर छ सम्म पुग्ने नेपालको चाहना छ । जसका लागि नेपालले ब्याटिङमा निकै सुधार गर्नु पर्ने देखिन्छ ।













