विश्व टेस्ट च्याम्पियनसिपको उपाधि अष्ट्रेलियालाई, भारत फेरि पनि उपविजेतामै सीमित

तस्बिर : आईसीसी

कैलाली । भारतलाई दुई सय नौ रनले पाखा लगाउँदै  इङ्ग्ल्याण्डमा सम्पन्न दोस्रो संस्करणको विश्व टेस्ट च्याम्पियनसिपको उपाधिअष्ट्रेलियाले उचालेको छ । इङ्ग्ल्याण्डको ओभलमा भएको फाइनलमा अष्ट्रेलियाले भारतसामु जितका लागि चार सय ४४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । विशाल लक्ष्य पछ्याएको भारत दुई सय ३४ रनमा सबै विकेट गुमाउँदै आफ्नो पारी समाप्त गर्दै उपाधिबाट चुक्यो । उसका लागि पूर्व कप्तान विराट कोहलीले ४९, अजिन्क्या रहाणेले ४६ र कप्तान रोहित शर्माले ४३ रन बनाउँदा चेतेश्वर पुजाराले २७, विकेट किपर श्रिकर भरतले २३ रन बनाए । 

भरतको पारीलाई ध्वस्त गर्न बलिङतर्फ अष्ट्रेलियाका नाथन लायनले चार, स्कट बोल्यान्ड तीन र मिचेल स्टार्कले दुई विकेट लिए ।

यसअघि अष्ट्रेलियाले दुई सय ७० रनमा आठ विकेट गुमाएको अवस्थामा दोस्रो पारी समाप्तिको घोषणा गरेको थियो । पहिलो पारीमा अस्ट्रेलियाले चार सय ६९ र भारतले दुई सय ९६ रन बनाएको थियो ।

यो हारसँगै भारत फेरि पनि उपविजेतामै सीमित बनेको छ । यसअघि सन् २०२१ मा भएको पहिलो संस्करणको फाइनलमा भारत न्युजिल्यान्डसँग पराजित हुँदै उपाधि उचाल्नबाट बञ्चित भएको थियो । दोस्रो संस्करणको उपाधि आफ्नो पक्षमा पार्न इङ्ग्ल्याण्ड पुगेको भारतीय टोलीका लागि यस पटक अष्ट्रेलिया पहाड बनेर आयो । 

भारतले पछिल्लो १० वर्षदेखि आईसीसीका कुनै पनि प्रतियोगिताको उपाधि जित्न सकेको छैन । भारतले २०१३ मा इङ्ल्यान्डलाई हराउँदै आईसीसी च्याम्पियन्स ट्रफी जितेयता हालसम्म आईसीसीका कुनै पनि प्रतियोगिताको उपाधि जितेको छैन ।

Share