कैलाली । आईसीसी एकदिवसीय विश्व कप छनोटका लागि अन्तिम तयारीमा रहेको नेपाली क्रिकेट टोलीले यति बेला दक्षिण अफ्रिकामा रहेको छ । जहाँ नेपालले आज खेलेको पहिलो अभ्यास खेलमा फराकिलो हार बेहोरेको छ । स्कटल्यान्डसँगको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल सात विकेटले पराजित भएको हो ।
नेपालले दिएको एक सय ३६ रनको सामान्य लक्ष्य स्कटल्यान्डले २९ ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो । उसका ब्रेन्डन म्याकमुलनले ५९ रनको अर्धशतकीय पारी खेल्दा रिची बेरिङ्टनले ४१ रनको योगदान गरे ।
बलिङ तर्फ नेपालका गुलसन झाले दुई तथा सोमपाल कामीले एक विकेट हात पारे ।
यसअघि दक्षिण अफ्रिकाको प्रिटोरियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २८ ओभर पाँच बलमा सबै विकेट गुमाएर जम्मा एक सय ३५ रन बनाउन सक्यो । नेपालका कुशल मल्लले ३७ र आसिफ शेखले २८ रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ स्कटल्यान्डका ब्रेन्डन म्याकुमलन ज्याक जार्विसले समान तीन विकेट लिए ।
अब नेपालले दोस्रो अभ्यास खेलमा शनिवार नेदरल्याण्ड्ससँग खेल्ने तालिका रहेको छ । नेपाली टोली अघिल्लो हप्ता मङ्गलवार दक्षिण अफ्रिका गएको थियो ।
नेपाल दक्षिण अफ्रिकाबाटै जिम्बाबेमा हुने विश्व कप छनोट प्रतियोगितामा सहभागि हुन जिम्बाबे जाने छ । उक्त प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगितामा नेपाल समूह ’ए’ मा रहेको छ । नेपालको समूहमा बलियो टोली आयोजक जिम्बावे, वेस्ट इन्डिज, नेदरल्याण्ड्स र अमेरिका रहेका छन् । नेपालले असार तीन गते जिम्बाबेसँगै खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । समूह ’बी’ मा श्रीलङ्का, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई रहेका छन् ।
हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा समूह ’बी’ बाट आउने तीन टोलीले समूह ’ए’ का तीन टोलीसँग खेल्नेछन् । त्यसपछि शीर्ष दुई टोली फाइनलमा पुग्दै भारतमा हुने विश्व कपमा स्थान बनाउने छन् ।













