विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेलमा भारत विरुद्ध बलियो स्थितिमा अस्ट्रेलिया

तस्बिर : आईसीसी

कैलाली । बुधबारदेखि इङ्ल्यान्डमा सुरु भएको आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतसँगको खेलमा अस्ट्रेलिया बलियो स्थितिमा रहेको छ । पहिलो दिनको खेल सकिँदा अस्ट्रेलियाले मात्र तिन विकेट गुमाउँदै तीन सय २७ रन बनाएको छ ।  

इङ्ल्यान्डको द ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको अस्ट्रेलियाले ८५ ओभरको समाप्तिमा पहिलो दिन नै उच्च योगफल बनाएको हो ।

तीन विकेट गुमाउँदै तीन सय २७ रन बनाउँदा पहिलो दिनको खेल सकिएको थियो । उसका लागि ओपनर उस्मान खवाजा र डेविड वार्नरले टोलीलाई राम्रो सुरुवात दिलाउन सकेनन् । खवाजा १० बलको सामना गर्दै खाता नै नखोली पेभिलियन फर्किए । वार्नरले आठ चौकाको मद्दतमा ४३ रन बनाउँदै आउट भए । खवाजा पेभिलियन फर्किएपछि क्रिजमा पसेका मार्नस लाबुसेन मात्र २६ रन जोडेर फर्किए । वार्नर आउट भएपछि आएका स्टिभ स्मिथ ९५ रनमा अविजित रहेका छन् । उनले १४ चौका प्रहार गरि सकेका छन् । 

यस्तै मार्नस आउट भएपछि क्रिजमा पसेका ट्राभिस हेडले उत्कृष्ट प्रदर्शन गरे । उनले पहिलो दिनको खेल सकिँदा अविजित एक सय ४६ रनको पारी खेलेका छन् । योसँगै उनी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा शतक हान्ने पहिलो खेलाडी समेत बनेका छन् । स्मिथ र हेडले भारतीय बलरलाई दवाव दिई रहेका छन् ।

अव यी दुई ब्याटसम्यानलाई चाँडो आउट बनाउ सकेन भने भारतका लागि उनीहरु चुनौतीका पहाड बन्ने छन् । यसपछि आउने क्यामरुन ग्रीन पनि विपक्षी टोलीको लागि घातक नै मानिन्छन् । यस्तै विकेट किपर एलेक्स केरी पनि राम्रो फिनिसरको रुपमा चिनिन्छन् । 

पहिलो दिनको खेल सकिँदा बलिङ तर्फ भारतका लागि मोहम्मद सिराज, मोहम्मद शमीशार्दूल ठाकुरले समान एक विकेट हात पारेका छन् ।
दोस्रो दिनको खेल आज दिउँसो सवा तीन बजेदेखि सुरु हुनेछ ।

Share