तराईमा ‘लु’: जनजिवन कष्टकर

प्रतीकात्मक तस्बिर

कैलाली । नेपालका तराईका जिल्लामा जेष्ठ १९ गते मौसम पूर्वानुमान महाशाखाले एक बुलेटिन जारी गर्दै अबका पाँच दिन ‘लु’ तथा तातो हावा चल्न सक्ने चेतावनी जारी गरेको थियो । तर हिजो विहीबार पुनः मौसम पूर्वानुमान महाशाखाले एक विशेष बुलेटिन जारी गर्दै अझै पाँच दिन ‘लु’ तथा तातो हावा चल्न सक्ने चेतावनी दिएको छ । 

महाशाखाले जारी गरेको बुलेटिनमा अझै चार पाँच दिन गर्मी घट्ने  साथै तत्काल पानी पर्ने सम्भावना नै नरहेको पनि जनाएको छ । हाल देशका तराईका जिल्लामा अत्याधिक गर्मी बढेको छ । विहीबार मात्र कैलालीको तापक्रम ४२ डिग्री सेल्सियस रहेको थियो । आज पनि सोही सेरोफेरोमा तापक्रम रहने अनुमान गरिएको छ । हाल देशैभरीका तराईका जिल्लामा तापक्रम ४० डिग्री भन्दा बढी नै रहेको छ । विहीबार सबैभन्दा बढी तापक्रम दुम्कौलीमा अधिकतम ४३ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही अवस्था अझै केही दिन रहने भएकाले सतर्कता अपनाउन पनि मौसमविद्हरुले आग्रह समेत गरेका छन् ।

हिमालमा अत्याधिक चिसोका कारण लेक लागे जस्तै तराईमा अत्याधिक गर्मीका कारण ‘लु’ लाग्ने गर्दछ । अत्याधिक गर्मीका कारण तराईका जिल्लाका कतिपय ठाउँका नल्कामा पानी समेत आउन छोडेको छ । जसले गर्दा जनजिवन झनै कष्टकर बन्दै गएको छ । अत्याधिक गर्मीका कारण बारीमा लगाएका साग तरकारी तथा बाेटबिरूवा समेत मर्न थालेका छन् । उखरमाउलो गर्मीका कारण देशैभरका गर्मी बढेका ठाउँका विद्यालयहरू बन्द भैरहेका छन् ।

के हाे ‘लु’ ?

‘लु’ भएमा शरीरमा तापक्रमको सन्तुलन बिग्रन्छ । ‘लु’ का कारणले मानिसमा पोटासियम र सोडियमको कमी भई शरीर कमजोर हुने, ढल्ने, छटपटाउने, मासुहरू बाँउडिने आदि हुने हुन्छ । यस्ता व्यक्तिहरू एकदम हड्बडाउनुको साथै अचानक लड्ने, शरीर तातो भए पनि हात गोडा चिसो हुने, रोगीलाई टाउको दुख्ने, उसको ओठ, आँखा तथा मुख सुख्खा हुनुका साथै चिडचिडापन र थकान महसुस हुने , ज्वरो आउने , पसिना आउन बन्द हुने , ७-८ घन्टासम्म पिसाब पास नहुने , टाउको एवं पेट दुख्ने , आँखामा जलन हुने , लगातार उल्टी हुने वा पखाला लाग्ने, मुटुको धड्कन तेज हुने तथा बेहोसीका लक्षणहरू देखिन्छन् ।

साथै श्वासप्रश्वासमा असर पर्ने, रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुनाका साथै छाला सुक्खा, रातो र तातो हुने भएकाले विज्ञहरूले यसबाट बच्न बाहिर ननिस्किने निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका मात्र गर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने, चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउन सुझाव दिएका छन् । 

कहिले भित्रिएला मनसुन 

सरदर नेपालमा मनसुन बङ्गालको खाडीबाट जेष्ठ अन्तिम सातातिर आइपुग्ने गर्दछ । तर यसपालि भने दिला गरि मनसुन भित्रिने मौसमविद्को भनाई रहेको छ । यसपालिको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ । मौसमविद् रोजन लामिछानेका अनुसार केरला आइपुगेको मनसुनी वायु नेपालमा सरदर १२ दिनपछि आइपुग्छ । तर, कहिलेकाहीँ एक दुई दिन अघि वा पछि पनि हुन सक्ने बताएका छन् । 

मौसमविद्का अनुसार अहिले भारतको केरलाको आकाशमा बादलहरू निर्माण भइरहेको छ । मनसुनी वायु बादल लगाउने र पानी पार्ने वायु हो । सामान्यतया भारतको केरलामा जुन १ मा मनसुनी वायु देखापर्दा नेपालमा जुन १३ मा मनसुनी वायु भित्रिने सरदर मापन गरिन्थ्यो । मनसुन वायु नेपाल कति चाँडै आउँछ भन्ने कुरा वायुको वेगसँग पनि निर्भर रहने गर्दछ ।

नेपालमा झापाबाट प्रवेश गरेको मनसुन देशैभर फैलन कम्तिमा पाँच दिन लाग्ने मौसमविद्को भनाई रहेको छ । भारतको केरला आइपुगेको मनसुनी वायु बङ्गालको खाडीमा पुग्छ । त्यसपछि उत्तरपूर्व हुँदै नेपालको पूर्वी जिल्ला झापाबाट नेपालमा मनसुन भित्रिने गर्दछ । गतवर्ष नेपालमा जुन ५ मा मनसुनी वायु प्रवेश गरिसकेको थियो । तर यो वर्ष भने हाल सम्म पनि मनसुन भित्रने कुनै छाँटकाँट छैन् । सन् २०२१ मा जुन ११ मा मनसुनी वायु नेपाल प्रवेश गरेको थियो । 

Share