कैलालीको घोडाघोडीमा यही जेठ २५ गतेदेखि दादुरा र रुबेलाको खोप लगाइने

कैलाली । कैलाली जिल्लामा दादुरा रुबेला खोप अभियान सञ्चालन हुदैछ । दादुरा र रुबेलाको प्रकोप देखिएका नेपालका नौ जिल्ला मध्ये कैलालीमा  यही जेठ २५ गतेदेखि खोप अभियान सञ्चालन हुन लागेको हो । 

अभियानलाई सफल पार्न आज घोडाघोडी नगरपालिकामा रोग रोकथाम तथा नियन्त्रणको लागि दादुरा प्रकोप जिल्लाहरूमा दादुरा रुबेला खोप अभियान सञ्चालनको लागि अभिमुखीकरण तथा योजना गोष्ठी कार्यक्रम सम्पन्न गरिएको छ । 

अभिमुखीकरण कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक रामु शर्माले नेपालमा २०३६ सालदेखि दादुरा विरुद्धको खोप लगाउन सुरु भए पनि अझै सङ्क्रमित देखिन थालेकाले खोप अभियान सञ्चालन गर्न लागिएको बताएका छन् । दादुरा भयानक सरुवा रोग भएकाले यसलाई रोकथाम गर्नका लागि अहिले सरकारले सङ्क्रमण देखिएका जिल्लामा अभियान सुरु गरिसकेको उनले बताए । दादुरा र रुबेला सङ्क्रमण देखिएका जिल्लाभरि खोप अभियान सञ्चालन हुन लागेको छ ।

नेपालमा ४ प्रतिशत बालबालिकाले कुनै पनि खोप नलगाएको र २० प्रतिशत बालबालिकाले दोस्रो मात्राको खोप नलिएको सर्वेक्षणले देखाएको विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक शर्माले बताए । उनले नियमित खोप ९५ प्रतिशतभन्दा कमले लगाउने, सबै तहमा एकरूपता नहुने, क्रियाकलाप सञ्चालन प्रभावकारी नहुने, जिम्मेवारी, अपनत्व र समन्वयमा कमी हुने जस्ता प्रमुख समस्या रहेको उनले बताए । 

कैलाली जिल्लाका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकामा दादुरा र रुबेलाको सङ्क्रमण देखिएकोमा ४७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । उक्त जिल्लामा दुई लाख छ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य अनुसार सबै पालिकामा खोप लगाउने  काम सुरु  हुने भएको छ ।

यसअघि पनि कैलालीमा दादुरा सङ्क्रमण देखिएपछि छ महिनादेखि १५ वर्षमुनिका १६ हजार बालबालिकालाई गएको फागुनमा खोप लगाइएको थियो । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा र रुबेलाका बिरामी फेला परेकाले यी जिल्लामा खोप अभियान सञ्चालन गर्न थालिएको घोडाघोडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख जगदीश कुश्मीले बताएका थिए ।

खोप अभियानमा छ महिना देखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप लगाइने भएको छ ।