कैलाली । कैलालीको धनगढीमा हुने चौथो एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको दुई विधामा मनोनयन सार्वजनिक भएको छ । अवार्डको सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक गरिएको हो । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक विजेता खेलाडीहरूलाई समेटेर मनोनयन सार्वजनिक गरेको हो ।
असार ८ गते धनगढीमा हुने चौथो संस्करणका लागि सुदूरपश्चिम आइकन पुरुष विधामा फेन्सिङका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा परेका छन् । शाहीले ९ औं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमलाई पहिलो स्वर्ण पदक जिताएका थिए । फेन्सिङमा सुदूरपश्चिमलाई उनले पहिलो पटक स्वर्ण पदक जिताएका हुन् । आनन्दले कामी ९ औं राष्ट्रिय खेलकुदमा कराँते तर्फ ५० किलो तौल समुहमा स्वर्ण जितेका थिए । सुदूरपश्चिमलाई कराँतेमा स्वर्ण पदक दिलाउने उनी एक्ला खेलाडी हुन ।
जियारतले उमेर समूहमा नेपाली पुरुष टोलीमा सहभागिता जनाउँदै २० वर्ष मुनिको साफ च्याम्पियनसिपमा उपविजेता बनेको टोलीका सदस्य हुन् । उनले खुमलटार युवा क्लबलाई ‘ए’ डिभिजनमा पुराउनका लागि पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । मनाङ मर्स्याङ्दी क्लबबाट व्यावसायिक ‘ए’ डिभिजन लिग खेलिरहेका उनी गत वर्ष भएको यस्तै तिलोत्तमा गोल्डकपको उत्कृष्ट गोलरक्षक समेत भएका थिए । उनले एएफसी यु २० छनोटमा नेपाली टोलीको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए ।
सुदूरपश्चिम आइकन महिलामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दिपा रोकाया र क्रिकेटकी कविता कुँवर मनोनयनमा परेकी छिन् । मनिषाले ९ औं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमलाई कुस्तीमा ५३ किलो तौल समुहमा स्वर्ण पदक दिलाएकी थिइन । उनले एसियन छनोट प्रतियोगितामा पनि स्वर्ण हात पारेकी थिइन् । कविताले सुदूरपश्चिमलाई प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।
‘चौथो सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।













