नयाँ कविताः कहिल्यै सोचेको थिइन!

ती दिनमा
म उन्मत्त हात्ती थिएँ
शिकारी सुरको शेर थिएँ
लाग्थ्यो, पहाडबाट चट्टान झर्दै झर्दैन
जीवनमा अनिष्ट पर्दै पर्दैन
कहिलेकाहिँ त लाग्थ्यो – म मर्दै मर्दिन

मायाऽऽऽ, दयाऽऽऽ, करूणाऽऽऽ सब
अन्यौलमा बाँचेका अबुझको – भ्रम झैँ लाग्दथ्यो
म भक्तहरूलाई भन्दथेँ – जीवन यथार्थ हो
सन्सार – भावले होइन
बन्दुकको नालले बनेको छ
नपत्याए, इतिहास साक्षी छ

जुन दिन धेऽऽऽरै शिकार हुन्थ्यो
छरपस्ट बहेको रगतको भेलले मलाई
लोकल कुखुराको झोलले झैँ उर्जा दिन्थ्यो
क्रान्ति सफल-उन्मुख भएको आभास हुन्थ्यो
म उन्मत्त हात्ती थिएँ
शिकारी सुरको शेर थिएँ

मेरालागि महाकालभन्दा ‘मार्क्स’
लोकेश्वरभन्दा ‘लेनिन’
मधुसूदनभन्दा ‘माओ’ महान थिए

मेरो आँखामा सत्ताको राप थियो
मनमा जंगली कुकुरको प्यास थियो
लछारियो, पछारियो, लुछियो, चुँडियो
किरीयापुत्री गिँडियो
मन्दिरमैँ मैदान बसाइयो
पण्डितको शीर भेदन गर्दै
शिक्षकको घाँटी सेरियो
म उन्मत्त हात्ती थिएँ
शिकारी सुरको शेर थिएँ

आजको कथा फरक छ
झर्दैन भनेको पहाडको त्यो चट्टान
टुक्रा-टुक्रा गरी – दोहोर्याई, तेहर्याई –
मेरै घरमा बर्षिँदैछ
आउँदैन भनेको त्यो अनिष्ट – बारम्बार –
मेरै निधारमा बज्रिँदैछ

आँसुलाई भ्रम र रगतलाई क्रान्ति संझिने मैले
कहिल्यै सोचेको थिइन
जीवनमा पाप र धर्म हुन्छ भनेर
कहिल्यै सोचेको थिइन
पापले प्वाल पारेको
मेरो मुटुबाट बहेको रगत पखाल्न
अन्तत: म धर्मकै शरण पर्छु भनेर
“आखिर रहेछ श्रीकृष्ण एक,
न भक्ति भो, ज्ञान, नभो विवेक!”

 

मिति: २० जेष्ठ २०८०
(पुनश्च: यो कविताको हालैको एउटा चर्चित पुजा-अर्चनासँग कुनै सम्वन्ध छैन। फोटो: हालै चर्चामा आएको उज्जैन मन्दिर)

 

उक्त कविता @RabindraMishra ‘ट्विटर ह्यान्डल’ बाट साभार गरिएकाे हाे । रवीन्द्र मिस्र राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष हुन् ।

 

Share