तराईमा ‘लु’ काे खतरा

तस्बिर : सामाजिक सञ्जाल

कैलाली । नेपालका तराईका जिल्लामा अबका पाँच दिन ‘लु’ तथा तातो हावा चल्न सक्ने मौसम पूर्वानुमान महाशाखाले शुक्रबार चेतावनी जारी गरेको छ । महाशाखाले हिजो शुक्रवार दिउँसो विशेष बुलेटिन जारी गर्दै विगत केही दिनदेखि काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेकाले तराईका भूभागमा आउँदो पाँच दिन ‘लु’ चल्न सक्ने चेतावनी दिएको हो । पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिकरूपमा बढ्न सक्ने सम्भावना रहेकोले सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।

काठमाडौं उपत्यकासहित देशैभरिको तापक्रम क्रमिक वृद्धि भइरहेको तथा मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि मापन भएको महाशाखाले जनाएको छ । पछिल्लो पाँच दिनदेखि आकाश खुला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी भएको महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बुलेटिनमा बताए । पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको पनि मानन्धरको भनाइ रहेको छ । 

के हो ‘लु’ ?

‘लु’ लाई अङ्ग्रेजीमा हिट् स्ट्रोक भनिन्छ । शरीरको तापक्रम १०६ डिग्री फरेनहाइट भन्दा बढी भई दिमागले काम गर्न नसक्ने अवस्थालाई नै ‘लु’ भनिन्छ । नियमित भन्दा पाँच डिग्री सेन्टिग्रेड तापक्रम लगातार पाँच दिनभन्दा बढी भइराख्यो भने ‘लु’ लाग्ने सम्भावना हुन्छ । ‘लु’ लागेर मानिसको तत्कालै मृत्यु हुने सम्भावना पनि रहन सक्छ । तराईका जिल्लामा गर्मी बढेसँगै स्वास्थ्यमा हुने एउटा प्रतिकूल अवस्था नै ‘लु’ लाग्नु हो । लेकमा अक्सिजनको कमीले लेक लागे जस्तै अत्याधिक गर्मीले ‘लु’ लाग्छ । अत्यधिक गर्मी हुने स्थानमा गर्मी मौसममा तातो बतास चलेको हुन्छ । यस्तो समयमा मानिस हिँड्दा, काम गर्दा, खेल्दा तातो हावा तथा घामको असरले मूच्र्छा पर्ने वा बेहोस हुने हुन्छ ।

‘लु’ लागेमा के हुन्छ ? 

‘लु’ भएमा शरीरमा तापक्रमको सन्तुलन बिग्रन्छ । ‘लु’ का कारणले मानिसमा पोटासियम र सोडियमको कमी भई शरीर कमजोर हुने, ढल्ने, छटपटाउने, मासुहरू बाउँडिने आदि हुने हुन्छ । यस्ता व्यक्तिहरू एकदम हड्बडाउनुका साथै अचानक लड्ने, शरीर तातो भए पनि हात गोडा चिसो हुने, रोगीलाई टाउको दुख्ने, उसको ओठ, आँखा तथा मुख सुख्खा हुनुका साथै चिडचिडापन र थकान महसुस हुने , ज्वरो आउने , पसिना आउन बन्द हुने , ७-८ घन्टासम्म पिसाब पास नहुने , टाउको एवं पेट दुख्ने , आँखामा जलन हुने , लगातार उल्टी हुने वा पखाला लाग्ने, मुटुको धड्कन तेज हुने तथा बेहोसीका लक्षणहरू देखिन्छन् । साथै श्वासप्रश्वासमा असर पर्ने, रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुनाका साथै छाला सुक्खा, रातो र तातो हुने गर्दछ ।

‘लु’ बाट कसरी बच्ने ?

बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका मात्र गर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने, चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउने विज्ञको सुझाव रहेको छ । साथै सकेसम्म बाहिर ननिस्कन, हल्का लुगा लगाउन, बाहिर निस्कनै परे टाउको छोप्न, टोपी लगाउन पनि विज्ञको सुझाव रहेको छ ।

विगत केही दिन देखि देशका अधिकांश भूभागहरूको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको देखिन्छ । काठमाडौं उपत्यका सहित देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भूभागमा, मुख्यतयाः मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । केही दिन यता तराएका विभिन्न जिल्लामा दिउसो बाहिर निस्किन समेत नसकिने किसिमको चर्को गर्मी बढेको छ ।  

Share