कैलाली । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने विश्वकप छनोटको अभ्यास खेल खेल्न भोलि दक्षिण अफ्रिका जाने भएका छन् । जिल्ला अदालत काठमाडौंले उनी विरुद्धको पेशी आगामी असार २९ गतेलाई सारेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई दक्षिण अफ्रिका पठाउन लागेको हो ।
यसअघि गत मङ्गलवार राष्ट्रिय क्रिकेट टोली नेपालबाट दक्षिण अफ्रिका प्रस्थान गरिसकेको छ । अदालतमा विचाराधीन मुद्दाका कारण लामिछाने सो टोलीबाट छुटेका थिए । प्रत्येक पटक पेशी तोकिएको २१ दिनभित्र अनिवार्य अदालत उपस्थित हुनुपर्ने प्रावधानका कारण उनी रोकिएका हुन् ।
उनका वकिलहरूले अदालतलाई अर्को पेशी डेढ महिना पछाडि सार्न निवेदन दिएका थिए । अदालतले सो निवेदनलाई स्वीकृत गरेपछि सन्दीप दक्षिण अफ्रिका जाने बाटो खुलेको छ ।
दक्षिण अफ्रिकामा नेपालले चारवटा अभ्यास खेल खेल्ने तालिका रहेको छ । त्यसपछि त्यतैबाट जिम्बाबेमा हुने विश्वकप ग्लोबल क्वालिफायरमा नेपालले भाग लिन जाने भएको छ । महत्त्वपूर्ण प्रतियोगितामा लामिछाने छुट्दा नेपालका लागि महँगो पर्न सक्ने भएकाले नेपाल क्रिकेट संघले उनलाई लैजान आवश्यक पहल गरिरहेको थियो ।
असार २९ गतेभन्दा अगाडि पेशी नतोकिने भएकाले लामिछाने जिम्बाबेमा क्वालिफायर खेल्न भ्याउनेछन् । क्यानका प्रवक्ता दुर्गाराज पाठकले लामिछानेलाई भाेलि नै पठाउने गरी आवश्यक तयारी गरिएको सञ्चार माध्यमलाई बताए ।













