कैलाली । नेपाल सरकारका अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले सोमबार आउँदो आर्थिक वर्ष २०८०/०८१ का लागि संसद्मा १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट भाषण गरेका छन् । चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलव २० प्रतिशत र पुँजीगत अर्थात् विकास बजेटतर्फ तीन खर्ब दुई अर्ब सात करोड अर्थात् ७ दशमलव २५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ तीन खर्ब सात अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।
बजेटमा ठूला देखि साना योजनाहरू समेटिए पनि सबैको नजरमा परेको चितवनमा निर्माणाधिन अवस्थामा अलपत्र रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाले भने स्थान पाएन । युवा तथा खेलकुद मन्त्रालयका लागि दुई अर्ब ८७ करोड ५९ लाख रकम विनियाेजन गरिएकाे छ । गत वर्ष युवा तथा खेलकुद मन्त्रालयलाई तीन अर्ब २५ करोड बजेट छुट्याइएकाे थियाे ।
बजेटमा बहुवर्षीय योजनाहरू समेटी रहँदा त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको चितवनको भरतपुर– १६ को कृषि तथा वन विश्वविद्यालयले भोगचलन गर्दैै आइ रहेको २० बिगाहा आठ कठ्ठा क्षेत्रफलमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको २०७५ माघ १६ गते धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुर महानगर पालिकासँग सहकार्य गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, तत्कालीन कांग्रेस महामन्त्री शशाङ्क कोइराला, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, कृषि वन विश्वविद्यालयका उपकुलपतिलगायत मन्त्री, सांसद, खेलाडीको उपस्थितिमा घोषित परियोजनाको निर्माण कार्य सुचारु गरेको थियो ।
उक्त रङ्गशालाको गुरुयोजना तयार भएको दुई वर्षभित्र निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनले दावी समेत गरेको थियो । रङ्गशाला निर्माणको लागत तीन अर्ब ५५ करोड लागत अनुमान गरिएको थियो । जनस्थरबाट बन्न लागेको उक्त रङ्गशालाका लागि देशविदेशका नेपालीहरूबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने उद्देश्य पनि राखिएको थियो । सोही अनुरूप कार्यले पनि तिव्रता पाएको थियो । तर रङ्गशालाको ३५ प्रतिशत काम सकिँदा ५४ करोड खर्च हुँदा ऋण नै १६ करोड पुगेपछि अब नसक्ने भन्दै धर्मुस-सुन्तली फाउन्डेसनले उक्त कार्यबाट पछि हटे ।

आर्थिक अभावकै कारण रङ्गशालाको काम रोकिएपछि धर्मुस-सुन्तली फाउन्डेसनले सरकारलाई हारगुहार समेत गरेको थियो । त्यसपछि भरतपुर महानगर पालिकाले आफ्नै स्वामित्वमा कार्य अगाडि बढाउने समेत जनाएको थियो । संघीय सरकारले पनि ऋण तिरेर सरकारले आफै निर्माण गर्ने जनाएको थियो तर निर्माण कार्य रोकिएको लामो समय हुँदा न महानगरले नै चासो दियो न त संघ सरकारले नै । बनेका पिल्लरमा खिया लागि सकेको छ भने अन्य संरचना पनि जीर्ण अवस्थामा पुगी सकेका छन् ।
केहि महिना अघि मात्र त्रिवि क्रिकेट मैदानमा सम्पन्न विश्वकप छनोटका खेल भैइरहदा प्रधानमन्त्री पुष्प कमल दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्वामित्व सरकारले लिने र त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गरिने बताएका थिए । नेपाली क्रिकेट टोलीको एकपछि अर्को सफलता पछि आम जनताको चासो निर्माणाधीन अवस्थामा अलपत्र परेको गौतम बुद्ध क्रिकेट रङ्गशाला तिर परेको थियो ।
यस आर्थिक बर्षकाे बजेटमा उक्त रङ्गशाला मुख्य प्राथमिकतामा पर्ने आँकलन गरिएकाे थियाे । तर सोमबार अर्थमन्त्रीले बजेट भाषण गरि सक्दा कुनै ठाउँमा पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाले स्थान पाएन । बेला बेला राजनीतिक दलका नेता, प्रधानमन्त्री र भरतपुर महानगर पालिका प्रमुखले मुख्य प्राथमिकतामा राखेर दिइने अभिव्यक्तिले यस पटकको बजेटमा उक्त रङ्गशालाले स्थान पाउने सबैले अपेक्षा गरि रहेको थिए ।
त्यसपछि भएको एसिया कप छनोटका खेल चली रहेका बेला पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विषयले निकै चर्चा पाएको थियो तर त्यो चर्चा क्षण भरमै सेलायो । प्रधानमन्त्री र नेताका अभिव्यक्ति क्षण भरमै हराए । रङ्गशालाको हालत भने उही ।
त्रिवि मैदानकाे स्ताेराेन्नति
प्रधानमन्त्रीले भने बमोजिम त्रिवि क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको रङ्गशालाका रुपमा विकास गर्ने र फ्लड लाइट राख्ने बजेटमा व्यवस्था गरिएको छ ।

मूलपानी क्रिकेट रङ्गशालाको निर्माण कार्य सम्पन्न गर्ने जनाएको छ । यस्तै देशभरका अन्य रङ्गशाला निर्माणका लागि बजेटको व्यवस्था गरिएको छ ।

एकातिर खेल क्षेत्रलाई अगाडि बढाउन जरूरी रहेको भाषण गर्ने तर पूर्वाधार निर्माणमा बजेट विनियोजित नगरिँदा खेल क्षेत्र उकासिन नसकिने पक्का छ। पछिल्लो समय नेपाली क्रिकेट टिमले एक पछि अर्को सफलता हात पार्दै नेपाललाई विश्व सामु परिचित गराउँदै लगेको छ । तर सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा खेलाडी सँग खेलप्रेमी निरूत्साहित भएका छन् ।













