काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने विना नै आज टोली दक्षिण अफ्रिका भ्रमणमा चार ओटा अभ्यास खेल खेल्न जाँदै छ । आफू टोलीमा रहँदै भ्रमणमा जान नपाएका लामिछानेले नेपाली राष्ट्रिय टोलीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना दिएका छन् । साथै सोही सामाजिक सञ्जाल मार्फत आफू यो भ्रमणमा समावेश नभएको पनि जानकारी दिएका छन् ।
आज पनि जिल्ला अदालत काठमाडौंले फैसला दिन सकेन । न्यायाधीश शंकर बहादुर राईको इजलासमा परेको सो मुद्दामा अन्तिम सुनुवाइका क्रममा पीडित पक्षका कानुन व्यवसायीले अन्तरिम क्षतिपूर्तिको निवेदन सम्बोधन नभएको बताएपछि मुद्दा लम्बिएको हो ।
सुनुवाइ स्थगित भएपछि लामिछानेले दक्षिण अफ्रिका जाने मौका गुमाएका हुन् । उनको सुनुवाइ अदालतले बेला बेला स्थगित गर्दै आएको थियो । लामिछाने विनाको टोली आज दक्षिण अफ्रिका जाँदै छ । त्यहाँ नेपालले चारवटा अभ्यास खेल खेल्नेछ । त्यसपछि जिम्बावेमा हुने विश्वकपको छनोट प्रतियोगितामा सहभागी हुन उतै बाट त्यसतर्फ उड्नेछ ।
दक्षिण अफ्रिका भ्रमणमा छुटेका लामिछानेले जिम्बावे जाने वा नजाने भन्ने निर्णय अदालतको फैसलाले गर्ने छ । विश्वकप छनोट सुरु हुनुअघि पनि मुद्दाको सुनुवाइ भएन भने उनी जान पाउने छैनन् ।
दक्षिण अफ्रिका जाने टोलीलाई शुभकामना दिँदै लामिछानेले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘मलाई तपाईंहरू र तपाईँहरूको क्षमतामा विश्वास छ । तपाईंहरू सबैले नेपालको क्रिकेटलाई यो स्तरमा ल्याएर विश्वलाई आफ्नो सम्भावना देखाई सक्नुभएको छ । अब समय आएको छ कि तपाईँहरूले फेरि आफ्नो क्षमतामा विश्वास गर्ने । जहाँ गए पनि आफ्नो उत्कृष्टता दिनुहोला । टोलीलाई अगाडिका लागि शुभकामना र शुभयात्रा ।













