छेलाको भावर र एक हटेरुको समय

-लाेकराज भट्ट

कथा भनेका मान्छेहरूका व्यथाहरू पनि त हुन्। जुन कुनै बखत कागजका पानाहरूमा अटाउन सकेनन्। तर धेरैको जनजिब्रोमा अटाईरहे। अनेकौ अलिखित जीवनका वास्तबिक कथाहरू मध्येको एक हो देवु वडको कथा । जुन कथा लगभग एक शताब्दी भन्दा पुरानो छ ।

धर्म र संस्कृतीको आडमा उभिएर जीवन शैली निर्माण गरेका केही बुढ्यौली अनुहारहरू अझैपनि गाउँघरमा देखिन्छन्। तीनका आफ्नै भोगाईहरू छन्। जीवनसँग कयौं दुःख सुख र रामरमिताका किस्साहरू जोडिएका छन । र तीनैले सुनेका छन आफ्ना अगिल्ला पुस्ताका भोगाईहरू।

आज भन्दा ३१ बर्ष अगाडी डोटीको ग्रामीण क्षेत्रमा घरेलु उद्योगको सुरुवात गर्ने, जोगीसिंह कुवरसँग बसेर केही पुराना कुराहरू सुन्न पाएको थिएँ। आज उनले सुनाएको यही कथाले मन लोभ्याएको छ। यो कुनै परदेशीको कथा हैन। एउटा हलीको कथा हो। हाटको कथा हो।

डडेल्धुरा र डोटी, त्यस बखत डोटी मै थिए। डडेल्धुरालाई तल्लो काणा भनेर चिनिन्थ्यो । हालको डोटीलाई मल्लो काणा भनेर चिनिन्थ्यो। रिती र संस्कृतीहरू पुराना थिए। चालचलनहरू पुराना थिए। गाउँहरूमा घरहरू थोरै थिए। जनसंख्या थोरै थियो। युग अनुसार जीवनशैली राम्रै थियो।

धन पैशाको लागि मान्छेहरू परदेश जान्थे। कुमाउँ र गढवालसम्म पुग्थे। त्यसबखत भारत, अँग्रेजको अधिनमा थियो। केही मान्छेहरू भारतमा गएर सेनामा भर्ती हुन्थे।केही कुल्ली काम गर्थे। लाहुर  र पन्जाब जान्थे। बम्बै र ब्याङ्लोर पुग्थे।अहिलेका जस्ता बाटाहरू थिएन। धेरै दिनको बाटो हिडेर जानु पर्थ्याे।

बारीमा कपास फूल्थ्यो, आँगनमा चर्खा चल्थे। तानलगाएर गजी र सुती बन्थ्यो। कपाडा तिनैका बन्थे। कपडाको अभाव पुरा हुन्थ्यो। खप्तडबाट बडु नामक बनस्पति बोकेर ल्याउँथे त्यसैका कागज बनाएर बेच्थे। सरकारी कामकाज, महत्वपूर्ण अभिलेख र तमसुक तिनै कागजमा लेखिन्थे।खेतलमा ढकमक तोरी फुल्थ्यो। गाउँगाउँमा कोल घुम्थे, त्यसबाट तेलको पुर्ती हुन्थ्यो। बारीभरी लगाईएका उखु पेलेर त्यसबाट खुदो बन्थ्यो। त्यसले बर्षभरी चिया पिउन र मिठा परिकार बनाउनका लागि पुग्थ्यो। जे बन्थ्यो आफ्नै परिवेश र प्रविधिले पुरा हुन्थ्यो। जे बन्दैनथ्यो त्यसका लागि हाट जानु पर्थ्याे।

पहाडको जीवन शैली भारीमा धानीएको नुनको गर्जो, जसरी पनि पुरा गर्नै पर्थ्याे। त्यही परदेशीको हिँड्ने बाटो भएर हिउँदका दिनहरूमा हाट बोक्न जान्थे मान्छेहरू। परनिर्भताको नाममा नुनको जोहो नगरी बर्ष गुर्जान कठिन हुन्थ्यो।

हाटजानु भन्दा केही दिन अघि गाउँमा सल्लाह हुन्थ्यो। हाट जाने अगिल्लो साँझ दमाईले दमाह बजाएर सबै ठाउमा खबर गर्थे। हाटजाने बाजो लगाईसके पछि भोली बिहानै हाट हिन्नु पर्छ भनेर सबै बस्तीका मान्छेहरूले बुझ्नु पथ्र्याे। गाउँमा चहलपहल हुन्थ्यो। बाटोमा खाने सामल, ओढ्ने कपडा, कसैले बेच्नका लागि घ्यू र मह जालेडोकोमा राखीसक्थे। बाटोको लागि र ल्याउने सामानका लागि खर्च बोक्थे।

सक्नेजति गाउँका युवाहरू सबै हाट हिँडेपछि गाउँहरू सुनसान हुन्थे। महिला, बालबालिका र बुढापाकाहरू मात्रै गाउँमा रहन्थे। गाउँमा मलमी पाईन मुस्किल हुन्थ्यो। कोही मरिहाल्यो भने घरमा भएकाहरूलाई घाटसम्म लाश पु¥याउन कठिन भैजान्थ्यो। घरगाउँका कठिनाईहरू महिला र बुढा बाजेहरूको काँधमा आईपर्थे।

कन्चनपुरमा पर्ने नेपाल भारतको सिमानाका बजार टनकपुर र बरमदेउमा त्यसबखत हाट ल्याउन पुग्नुपर्थ्याे। मल्लो डोटीका मान्छेहरू बुडरको बाटो भएर जोगबुडा निस्किन्थे। जोगबुडामा अरु पहाडी जिल्लाका मान्छेहरू भेटिन्थे। सबै ठाउँका मान्छेहरूको एउटै बाटो सुरु हुन्थ्यो।बरमदेउको हाट तल्लो डोटी अर्थात तल्लो काणाका मान्छेहरूलाई सबै भन्दा नजिक पर्थ्याे।

बाटोमा जनावर र चोरडाकाको निकै डर हुन्थ्यो। विभिन्न गतीविधीहरू हुन्थे। कुनै बखत त खराब मान्छेहरू भेटिए भने लडाई समेत पर्थ्याे, कुटाकुट हुन्थ्यो। नसक्नेहरूसँग सक्नेहरू अनेक निहुँ खोज्थे। धेरै मान्छेहरू सहयोगी पनि हुन्थे। जसले एक्ला मान्छेहरूलाई आफुसँग बास दिन्थे, अप्ठ्यारोमा साथ दिन्थे।

असैह्य भएपछि अटेरी गर्ने मान्छेहरूलाई हाटको बाटोमा गोर्खे लौरी हालेर भारीमै लडाई दिन्थे अरे। त्यो काम प्राय बुढापाका हटेरुहरूले गर्थे भन्ने सुनिन्छ। बाटोमा थकाई मार्ने निश्चित ठाउँहरू बनाईएका हुन्थे। अनि को र कहाँको मान्छे कति बलियो छ भनेर जोख्न ठाउँ ठाउँमा छेलो राखिएका हुन्थे। छेलो भन्नाले भार उत्तोलनका लागि बुट्टा कुँदेर हटेरुले थकाई मार्ने ठाउँमा राखीएको ठुलो ढुङ्गो हो। जुन ढुंगोलाई सितिमिती सबै मान्छेले हल्लाउन समेत सक्दैनन्।ज स्ले बाटामा छेलो उचाल्यो ऊ नै बलवान कहलिन्थ्यो। त्यसै ठाउँका मान्छे बलिया रहेछन भन्ने गर्थे।

हाट जाने हटेरुहरू मध्ये एक क्विन्टलभन्दा कम भारी ल्याउने मान्छेहरू प्राय कम हुन्थे अरे।खुला आकास मुनि आगो ताप्दै जाडो मौसममा रात बिताउनुपर्ने, टाढाको बाटो धेरै दिन हिटेर जानुपर्ने, खुट्टा कपाइ कपाई भए पनि उचाल्न सक्ने भारी बोकिन्थ्यो अरे।

बरमदेउको हाट जाँदा जोगबुढाबाट सबै ठाउँका मान्छेहरू एकै बाटो हिडिसकेपछि सुरु हुन्थ्यो ठुलो जङ्गल। जसलाई छेलाको भावर भनेर भनिन्थ्यो। बरमदेउ र जोगबुडाको बिच पर्ने त्यही जंगलमा एक बखत तल्लो डोटीका मान्छेहरूले जंगलको बिचमा भयङ्कर ठुलो छेलो राखेर बाटो नै बन्द गरिदिएछन्। छेलो उचाल्न सकेपछि मात्रै अगाडी जान पाउने नत्र कसैलाई पनि जान नदिने भनेर अडान लिएर बसेछन्।

उनीहरूको अडानलाई वास्ता नगरी हिड्यो भने, त्यहाँ झगडा परिहाल्ने परिस्थीको सृजना भएको रहेछ। त्यो बुझेर बाटाभरी थाकेका, टाढाका हटेरुहरू डोका त्यहीँ राखेर चुपचाप बसेछन्। सारा जङ्गलभरी टनाटन हटेरु भैसक्दा पनि न कसैले छेलो उचाले न त ती मान्छेहरूले कसैलाई अगाडी बढ्न दिए। र बल्ल आईपुगेछ मल्लो डोटीको हटेरुको टोली।

ती हटेरुहरूले सबै कुरा बुझिसकेपछि छेलो उचाल्नलाई कस्सिहाले छन्। आफुले बोकेका डोका बिसाउन तम्तयार भएछन्। र त्यसै टोलीमा हाट बोक्न गएका रहेछन देवु वड पनि। र उनले भनेछन् “गोसाई यै ढुङ्गाका लागि डोका जनबिसाय, लडाई प¥यो भने तमी अगि बढ्नु यो ढुङ्गो त म उचालिहालौंला।” पिठ्युमा भिरेको डोका पिठ्युमै थियो अरे।

हातमा समातेको लौरी भुइँमा नराखेर काखिमा च्याप्दै देबुले दुबैहातले क्षणभरमै जुरुक्क उचालेछन बाटोको बीचमा राखिएको छेलो। उनको त्यो साहस र शक्ति देखेर रमिताहेरिहेका सबै हटेरु अचम्म परेछन्। फेरि देबुले सोधेछन् “यो ढुङ्गो काई फाल्नु पड्डे हो कि यैनुई रन्दिउँ ?” तब कोही बोलेनछन्। देबुले त्यो ढुङ्गो उचालेर बाटो भन्दा दश पन्ध्र मिटर टाढा लगेर राखिदिएछन। “तल्ला काँणी भन्दा त मल्ला काँणी बलिया रहेछन्।” बल्ल बोलेछन जोधा खोज्न बाटोमा छेलो राखेर अवरोध गरेका मान्छेहरू। र बाटोमा डरले छेलो नउचाली बसिरहेकाहरूको अवरोध खुलेछ।

देवु वड डोटीको वायल निवासी थिए। उनी पेशाले हली थिए। हलीको जीन्दगी बाँचेर आफ्ना दिनहरूमा साँगा पनालाहरूमा दुई जनाले हाल्ने काँध एक्लैले थापेका थिए। असारमा रोपाई सुरु हुने बित्तिकै महिना भरी हलगोरु कुदाउँथे। कार्तिकमा धानका बोराहरू उचालेर मालिकका दैलोसम्म पु¥याउँथे।

केही खेती उनको आफ्नै थियो र बाँकी मालिकका खेतहरूमा हलियाको काम गर्थे। उनको जीवन  चलेकै थियो। हिउँद बर्खा मालिकहरूसँगै खेतीपातीको काम गर्ने देवु मेलापर्व र दुःख सुखका हरेक पाटाहरूमा मिसिन्थे। बस्तीहरू अत्यन्तै नजिक भएका कारण पनि हालको कुमालिकोटदेखी तिखातरसम्मको भुगोलका मान्छेहरूको हाट जाँदाको एकता कायम रहन्थ्यो। त्यही टोलीसँग मिसिएर देवु पनि जान्थे।

त्यो जङ्गल जहाँ छेलो उचाल्ने प्रतिस्पर्धा हुन्थ्यो। कोभन्दा को बलियो भनेर मान्छेहरू एक अर्कालाई तौलने गर्थे। त्यै छेलो जोख्ने जङ्गल भएकै कारण र त्यो जङ्गलको नाम नै छेलाको भावर रहन गएको थियो भनिन्छ। अझै पनि कयौ बुढापाका मान्छेहरूले छेलाको भावर भन्ने बित्तिकै त्यही जङ्गल र देवुले उचालेको छेलाको प्रंसग सुनाई हाल्छन्।

पछिपछिका दिनहरूमा हटेरुको हाट बद्लियो। बरमदेउको हाट छुट्यो। मल्लो डोटीका मान्छेहरू कैलालीको नाकामा रहेको गौरीफन्टाको हाट बोक्न थाले। त्यसबेला डोटीका गोठालाहरू धनगढी चौमालामा भैसी हेर्ने खर्कहरू बनाएर बस्थे । देवुका जेठा छोरा नाउटे एक्लैले ओखल पिठ्युमा बोक्न सक्थे अरे। र अर्का छोरा राईभान वड लामो समयसम्म गोठालो बने। उनको खर्क हालको जोशी टाकीज (फिल्म हल) रहेको ठाउमै थियो भनेर धेरैले सुनाउछन्। उनी निकै वर्ष त्यहाँ गोठालो भएर बसेका थिए भन्ने अझै सुनिन्छ। पछि समय सँगै उनी घर फर्किए त्यहाँ जान छोडे।

गौरीफन्टाको हाट पनि छोटो भएर चौमालासम्म स¥यो। धनगढीमा बल्ल बस्तीहरू बस्न थाले। राईभानले गाउँमै हलो जोते, ढुंगा फुटालेर ज्याला मजदुरी गरे तर धनगढी फर्किएर गएनन्। त्यसपछिका पुस्ताहरूले चौमालबाट हाट बोके। त्यो बाटोमा पनि ठाउँठाउँमा छेलाहरू राखिएका थिए। मान्छेहरू त्यही बाटामा पनि छेलो जोख्ने प्रतिस्पर्धा गर्थे। त्यहाँ पनि रोकिएन छेलो उचाल्ने प्रतिस्पर्धा। राणाहरूले बिं सं १९८२ ताका गार्वा दरबार बनाउदा तिनै छेलो उचाल्दै हाट बोक्ने हटेरुहरूको श्रम शोषण गरेको कहानी जो कोही हाट बोकेका मान्छेले अहिले पनि सुनाउछन् गाउँघरमा।

त्यति बेलाका मान्छेहरूको जीवन शैली निकै राम्रो थियो। त्यति बेलाका परिकारहरू पोषिला हुन्थे। ‘अर्गानिक’ हुन्थे। अहिलेका मान्छेहरूले खान उत्तम ठानिएका चिजहरू खान छोडीसके। नखान भनिएका चिजहरूमा अम्मल परिसक्यो। ‘जङ्क फुड’मा जीन्दगी गुजारीरहेछन। प्लाष्टिकमा प्याकेजीङ गरिएका खानाहरूमा गुजारा चलिरहेछ।

क्याल्सियम बिहिन हड्डीमा बाँचिरहेछन। त्यस्ता हड्डी बोकेका मान्छेहरू न उकालो चढ्न सक्छन न बाटो हिड्न सक्छन्। क्यान्सरका कणहरू हावाभरी फैलिएका छन्। खेतभरी फैलिएका छन्। बिषादी नखाने मान्छे भेटिदैनन्। सुगर र प्रेसरले चालिस नकट्दै सताउन थालेको छ। अझ त्यसैमाथि बिजुलीपानी पिउनेहरू, बिजुलीका बल्ब जस्ता बनेका छन। बिजुली पानीको असर रहुन्जेल हल्लिरहन्छन, पानीले काम गर्न छोड्यो भने बिजुली निभे जस्तै निभ्छन्।

ती देवुहरूले पहाडको चिसो पानी, स्वच्छ हावासँगै शरीरका लागि  उत्तम ठानिएका खाने कुराको सेवन गरे र त ती बलवान कहलीए।

अहिलेका जस्ता अस्पताल र उहिलेका जस्ता देवुहरू भैदिएका भए, ती देवुहरूको जीवनशैली कस्तो हुँदो हो ? आजको जस्तो जमाना र ती अजङ्गको ढुङ्गो उचाल्ने प्रतिस्पर्धा गर्ने मान्छेले अहिलेको जस्तो अवसर पाएका भए देशको झण्डा तिनले पनि फहराउँथे होलान। भारोत्तोलनमा संसार जितेर फर्किन्थे होलान। तर देवुहरूको जिन्दगी त हलो जोतेरै सकियो। हाट बोकेरै सकियो।

अज्ञानता र अशिक्षाकै भुमरीमा लट्पटियो। मात्र कथा छोडेर गए देवुहरू। दुर्भाग्य नै भनु तिनै कथाहरू पनि लेखिएनन्।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *