एजेन्सी । घरेलु टोली इंग्ल्याण्डसंगको तीन खेलको टी २० श्रृङ्खला अन्तर्गतको दोस्रो खेलमा दक्षिण अफ्रिका ५८ रनले विजयी भएको छ । इंग्ल्याण्डको सोफिया गार्डेन क्रिकेट मैदान गएराति सम्पन्न खेलमा जित हात पारेसँगै दक्षिण अफ्रिकाले सिरिज १–१ को बराबरीमा ल्याएको छ । पहिलो खेलमा अफ्रिका ४१ रनले पराजित भएको थियो ।
दक्षिण अफ्रिकाले दिएको २ सय ८ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्याण्ड १६ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ४९ रन मात्र बनाउन सक्यो । उसका लागि जोनी बेयरिस्टोले सर्वाधिक ३० रन बनाए । यस्तै कप्तान जोस बटलर २९, जेसन रोय २० र लियाम लिभिङ्गस्टोन १८ रनमा आउट भए भने बाँकी ब्याट्सम्यानले दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् ।
बलिङ तर्फ दक्षिण अफ्रिकाका लागि एन्डिले फेहलुक्वायो, ताबरेज शम्सीले समान तीन, लुङ्गी एनगिडीले दुई तथा केशव महाराज र कागिसो रवाडाले समान एक विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा मात्र तीन विकेट गुमाएर २ सय ७ रन बनायो । उसका लागि राइली रुसोले अविजित ९६ रनको उत्कृष्ट पारी खेले ।
त्यस्तै, रिजा हेन्ड्रिक्सले ५३, हेनरिक क्लासेनले १९, ट्रिस्टन स्टब्स (अविजित) र क्विनटन डि ककले समान १५ रन जोडे ।
इंग्ल्याण्डका लागि मोइन अली, क्रिस जोर्डन र रिचर्ड ग्लेसनले समान एक विकेट हात पारे । इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।













