भारत । साफ च्याम्पियनसिप यु-२० पुरुष फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार श्रीलंकालाई ३-० गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
नेपाललाई जित दिलाउन कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एक/एक गोल गरे । पहिलो हाफमा श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको नेपालले दोस्रो हाफको सुरुवात बाट नै अग्रता लिई ।
खेलको ५८ औं मिनेटमा कप्तान आयुषको गोलबाट अग्रता लिएको थियो । अभिषेक वाइवाको क्रसलाई श्रीलंकाली गोलकिपरले पन्च गरेपछि रिवाउन्डमा आएको बललाई आयुषले गोल गरे । खेलको ६५ औं मिनेटमा कृतिसले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए ।
कप्तान आयुषले मिलाएको सर्ट पासलाई कृतिसले टप कर्नरमा सुन्दर गोल गरे । त्यसपछि खेलको ८४ औं मिनेटमा सुगमको पासमा मनग्यले गोल गर्दै नेपाललाई ३-० को जित दिलाए । जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ । यो जीत सँगै नेपाल फाइनल नजिक समेत पुगेको छ ।
यस्तै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यसअघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो । श्रीलंकाको यो लगातार दोस्रो हार हो ।
पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १-० गोल अन्तरले हराएको थियो । च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।













