काठमाडौं । काठमाडौंको विभिन्न ठाउँमा जुवा तास खेलिरहेको अवस्थामा १५ जना जुवाडेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । साथै प्रहरीले उनीहरूको साथबाट १ लाख १६ हजार रुपैयाँ समेत फेला पारेको छ ।
जिल्लाको गोकर्णेश्वर नगरपालिका-८ बेशीगाउँस्थित ४४ वर्षीय देव कुमार मोक्तानको घेन्टुक चिया पसलमा जुवा तास खेलिरहेको अवस्थामा मोक्तान समेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।
सो पसलमा जुवा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई नगद ६६ हजार रुपैयाँ सहित १ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
त्यसै गरी जिल्लाकै काठमाडौं महानगरपालिका-३२ नरेफाँटका पासा श्रेष्ठको घरमा जुवा तास खेलिरहेको अवस्थामा रामेछाप जिल्लाको मन्थली नगरपालिका-२ घर भई हाल भक्तपुर कौशलटार बस्ने २८ वर्षीय बुद्धि बहादुर बुढाथोकी सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५० हजार रुपैयाँ सहित १९ बुक तास फेला पारी पक्राउ गरेको थियो ।
यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको समेत जानकारी दिएको छ ।













