काठमाडाैं। स्रोत नखुलेको ३५ लाख भन्दा बढि रकम सहित तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेकाे छ । सोमबार धनुषा,रुपन्देही र पर्साबाट ३५ लाख ३९ हजार ४ सय ८० रूपैयाँ रकम सहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
धनुषाको जनकपुर उपमहानगरपालिका-१२ कुवाँबाट भारतीय नागरिक १९ वर्षीय अब्दुल समीलाई २३ लाख ८९ हजार ४ सय ८० रूपैयाँ नगद सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे । त्यसैगरि रूपन्देहीकाे सिद्धार्थनगर नगरपालिका-१ बाट ६ लाख ५० हजार भारतीय रूपैयाँ सहित भारतीय नागरिक ५० वर्षीय बुद्दिराम बरुलाई प्रहरीले पक्राउ गर्याे ।
सोमबार दिउँसो नै पर्साकाे वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट पनि स्रोत नखुलेको ५ लाख रूपैयाँ सहित भारत घर भएका ३० वर्षीय बालकृष्ण कुमारलाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट वीरगंजतर्फ जाँदै गरेको बिआर ०५ एजि ४२५३ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार कुमारलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।













