एजेन्सी । भारतको भुवनेश्वरस्थित कलिङ्गा रंगशालामा साफ यू-२० च्याम्पियनसिप फुटबल सुरु हुँदैछ। आज उद्घाटन खेलमा नेपालले माल्दिभ्सकाे सामना गर्नेछ । नेपाली समय अनुसार अपराह्न सवा ४ बजे सार्क स्तरीय फुटबल प्रतियाेगिता सुरू हुन लागेकाे हाे ।
नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले टोलीले सकारात्मक नतिजा निकालोस् भनेर करिब दुई महिनादेखि प्रशिक्षण दिइरहेका छन्। टोलीले आज माल्दिभ्ससँगको खेलमा पनि नतिजा राम्रो निकाल्ने मा प्रशिक्षक केसी आशावादी देखिन्छन् ।
यता बलियो मानिएको माल्दिभ्सका अधिकांश खेलाडीहरू शीर्ष डिभिजन लिगमा व्यस्त रहेका थिए । व्यस्त तालिकाका कारण उनीहरूले टोलीको रूपमा प्रशिक्षणमा आफ्नो धेरै समय बिताउन पाएका छैनन् । जसको प्रत्यक्ष फाइदा आज नेपाल लिन चाहन्छ । तर माल्दिभ्सलाई जित्न नेपाललाई सहज भने पक्कै पनि हुने छैन ।
यो साफ यू-२० च्याम्पियनसिप पहिलो पटक आयोजना हुन लागेको हो। एएफसीले एएफसी यू-२० च्याम्पियनसिप आयोजना गर्ने भएपछि साफले पनि साफ यू-२० च्याम्पियनसिप आयोजन सुरु गरेको हो।
नेपालले आफ्नो दोस्रो खेल जुलाई २७ मा श्रीलंकासँग र तेस्रो खेल जुलाई ३१ मा भारतसँग खेल्नेछ। नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बङ्गलादेशसँग खेल्ने समय तालिका रहेको छ ।
समूह चरणपछि शीर्ष दुई टोलीले अगस्ट ५ मा फाइनल खेल्नेछन्।
नेपाली टोलीमा
गोलकिपरः ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख ।
डिफेन्डरः अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा ।
मिडफिल्डरः दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान (कप्तान) र
फरवार्डः रोहित सुब्बा, निरञ्जन मल्ल, रोहन खड्गी ।













