काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएको घोषणा गरेका पुबुदु दसानायके दुई घण्टा नबित्दै क्यानडा क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्।
उनलाई क्यानडाले प्रशिक्षकमा नियुक्त गरेको जानकारी क्रिकेट क्यानडाले सामाजिक सञ्जालबाट दिएको छ। उनी क्यानाडाको प्रशिक्षकमा पनि दोस्रो पटक नियुक्त भएका हुन्। श्रीलङ्काको राष्ट्रिय टोलीबाट खेलेका दसानायके अहिले क्यानडाका नागरिक हुन्।

आज केही घण्टा अगाडि मात्रै काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै दसानायकेले आफ्नो पारिवारिक कारण देखाउँदै मुख्य प्रशिक्षकको पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
तत्कालीन समयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि मुख्य प्रशिक्षक विहीन भनेको नेपाली टोलीलाई उनले सम्हाल्दै आएका थिए। ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिज पछि ह्वाटमोरले राजीनामा दिएका थिए ।
त्यसपछि प्रशिक्षक विहीन बनेको नेपालका लागि नेपाल क्रिकेट संघले क्यानले प्रशिक्षकको लागि दरखास्त खुला गरेको थियो ।
अन्ततः गत मंसिर २५ गते मात्र दोस्रो कार्यकालका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका दसानायकेले एक वर्ष नपुग्दै अर्थात् आठ महिना मै पदबाट राजीनामा दिएका हुन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको खराब नतिजाको कारण पछिल्लो समय दबाबमा रहेका उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको बताएका थिए। तर दुई घन्टा बित्न नपाउँदै दसानायके क्यानडाको प्रशिक्षक नियुक्त भएको सार्वजनिक भएको छ ।
५२ वर्षीय दसानायके यसअघि सन् २०११ देखि २०१५ सम्म नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक भएर समेत काम गरेका थिए। अन्ततः सन् २०१५ मा क्यानसँग विवाद भएपछि नेपाली क्रिकेट टोलीको प्रशिक्षकबाट राजीनामा दिएका उनले पपुवान्युगिनी विरूद्ध अन्तिम खेल खेलाएका थिए। यद्यपि उनी आईसीसीको अनुरोधमा २०१७ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपालको कन्सल्ट्यान्ट प्रशिक्षक बनेका थिए। त्यतिबेला उनले नामिबिया भएको सिरिज र मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)विरुद्धको सिरिजमा नेपाली टोलीलाई सम्हालेका थिए।(एमसिसी-लामो इतिहास बोकेको इंग्ल्याण्डको पुरानो क्लब)
दसानायकेको नेतृत्वमा नेपालले डिभिजन ४ हुँदै डिभिजन एक सम्म खेलेको थियो। उनको प्रशिक्षणमा नेपालले सन् २०१४ को टी-२० विश्वकपमा सहभागिता जनाउदै हङकङ र अफगानिस्तानविरुद्ध जित समेत दर्ता गरेको थियो ।
नेपाली क्रिकेट टोलीको प्रशिक्षकबाट छोडे पछि उनी सन् २०१६ मा अमेरिकाको प्रशिक्षक नियुक्त भएका थिए। त्यस्तै उनले सन् २०१९ मा अमेरिकाको प्रशिक्षक पदबाट राजीनामा दिएका थिए।
दसानायकेले तीन वर्षअघि एभरेस्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्लाडिएर्टसका टोलीको मुख्य प्रशिक्षकमा समेत नियुक्त भएका थिए।













