काठमाडौं । काठमाडौं महानगरपालिकामा रहेको सिभिल सेभिङ् एण्ड क्रेडिट सहकारी संस्थामा ठगी प्रकरणमा संलग्न रही फरार रहेकी लेखा समिति सदस्य सिर्जना शाक्यलाई प्रहरीले पक्राउ गरेकाे छ । आकर्षक ब्याजदरको प्रलोभन देखाई बचत कर्ताबाट ५ अर्ब ८४ करोड ४० लाख ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरीले मंगलबार शाक्यलाई पक्राउ गरिएकाे हाे ।
महानगरपालिका -१३ सोल्टीमोडमा रहेको सहकारीले आकर्षक ब्याजदरका साथै विभिन्न प्रलोभन समेतमा पारी सो रकम ठगी गरेकाे अपराधमा फरार रहेकी ५७ वर्षीया शाक्य पक्राउ परेकी हुन् ।
साथै घटनामा संलग्न सहकारी संस्थाका पूर्व अध्यक्ष ईच्छा राज तामाङ सहित १२ जनालाई २०७८ मंसिर १७ गते प्रहरीले पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । त्यसपछि ईच्छा राज तामाङ र केशवलाल श्रेष्ठ पुर्पक्षको लागि कारागारमा राखिएको छ ।
यता शाक्यलाई मंगलबार पक्राउ गरी आवश्यक कानूनी कारबाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएको छ ।
शाक्य सहकारीका पूर्व अध्यक्ष ईच्छा राज तामाङकी पत्नि समेत हुन् ।













