काठमाण्डौं। नेपाल समाचारपत्र र हिमालय टेलिभिजनले तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचार सामग्री प्रकाशन प्रसारण गरेको भन्दै काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रेस काउन्सिल समक्ष कारवाहीका लागि उजुरी दिएका छन् । महानगरले आर्थिक वर्ष २०७९/०८० को प्रस्तावित बजेट तथा कार्यक्रममा विनियोजित रकम अमुख संस्थालाई दिएको भनी भ्रामक समाचार सम्प्रेषण गरेकाे ठहर गर्दै उजुरी दायर गरिएकाे हाे ।
सञ्चार माध्यमले व्यवसायिक पत्रकारितालाई ख्याल नगरी एकतर्फी रुपमा विषयवस्तुलाई प्रकाशन र प्रसारण गरेका तथ्यहीन समाचारले भ्रम सृजना गर्नका साथै व्यक्तिगत तथा संस्थागत गरिमामा समेत आँच पुर्याएको महानगरकाे ठहर छ । नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनले काठमाण्डौं महानगरपालिकाले आमुख संस्थालाई अनुदान दिने उद्देश्यले बजेट विनियोजन गरेकाे समाचार प्रकाशन प्रसारण गरेका थिए । पत्रकार आचार संहिता, २०७३ को दफा ७ बमोजिम यी दुई सञ्चार माध्यमलाई क्षतिपूर्ति सहितको कारवाहीको माग महानगरले गरेको छ ।













