एजेन्सी । इङ्ग्ल्याण्डका स्टार अलराउण्डर बेन स्टोक्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बताएका छन् । दक्षिण अफ्रिकासँग मङ्गलबारदेखि सुरु हुने तीन खेलको एकदिवसीय शृङ्खलाको पहिलो खेल खेलेपछि उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने जनाइएको छ ।
३१ वर्षीय स्टोक्सले सन् २०११ मा आयरल्याण्डविरुद्दको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । १ सय ४ एकदिवसीय अन्तर्राष्ट्रियमा उनले ब्याटिङतर्फ ३ सतक सहित २ हजार ९ सय १९ रन तथा बलिङतर्फ ७४ विकेट लिएका छन् ।
स्टोक्स अप्रिलमा इङ्ग्ल्याण्डको टेष्ट कप्तान समेत बनेका थिए । उनी टी–२० मा भने इङ्ग्ल्याण्डका लागि उपलब्ध हुनेछन् ।
सन् २०१९ मा एकदिवसीय विश्वकपको फाइनलमा न्युजिल्याण्ड विरुद्ध निर्णायक प्रदर्शन गरी प्लेयर अफ द म्याच बनेका थिए स्टोक्स । उनले हार तर्फ गएको टोलीलाई चमत्कारी प्रदर्शन गर्दै कसैले नसोचेको अवस्थामा टोलीलाई पुर्याएका थिए । अविजित ८४ रनको पारी खेल्दै खेललाई सुपर ओभरमा पुर्याउन उनको त्यो योगदान सधैँ देशको लागि अविस्मरणीय नै रहेको छ । एकदिवसीय होस वा टी २० या टेस्ट क्रिकेट किन न होस् सबैमा टोलीका लागि चमत्कारी प्रदर्शन गरेका छन् उनले ।
सुपर ओभरमा टोलीलाई पुर्याएर पुनः सुपर ओभरबाट नै विश्वकपको उपाधि थमाई दिए तिनै स्टोक्सले । सबैभन्दा रोमाञ्चक परिस्थितिमा इङ्ग्ल्याण्डले आफ्नो पहिलो आईसीसी पुरुष क्रिकेट विश्वकपको उपाधि जित्न सफल भएको थियो । जसमा सम्पूर्ण योगदान थियो तिनै बेन स्टोक्सको ।













