नेपाल टी २० लिग खेल्ने ४ टोलीकाे घोषणा, २ टोली घोषणा गर्ने अधिकार भारतीय कम्पनीलाई

काठमाण्डौं । आगामी असोज ८ गते देखि सञ्चालनका लागि तय भएको नेपाल टी २० लिग खेल्ने ६ टोली मध्ये  ४ टोलीको नाम  र स्वामित्व लिएका कम्पनीको नाम आज सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजना गर्न अनुमति दिएको लिगका लागि घोषणा गरेका ४ टोलीमा कान्तिपुर क्यापिटल्स,  लुम्बिनी अल स्टार्स, विराटनगर सुपरकिंग्स र जनकपुर रोयल्स रहेका छन्। 

कान्तिपुरको स्वामित्व कान्तिपुर नेपालका महेश स्वाँरले लिएका छन् भने नेपाली अलस्टार युएसएका सन्जय शर्माले लुम्बिनी अलस्टार्सको स्वामित्व लिएका छन्। विराटनगरको टोलीको स्वामित्व डाइमन्ड डिजिक्याप प्रालि भारतका विक्रम यादवले लिएका छन्। यस्तै भारतकै गोल्डस्पोर्ट्स प्रालिका गौरीशंकर धमनीले जनकपुरको टोलीको स्वामित्व लिएका छन्। क्यानले पोखरा र फार वेस्टर्नको टोली तथा स्वामित्व पछि घोषणा गर्ने जनाएको छ।

आगामी असोज ८ गतेदेखि कात्तिक ५ गते सम्म काठमाडौंमा हुने लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी) ले मान्यता प्रदान गरेको छ। क्यानले यसअघि  ६ टोली खरिदका लागि टेन्डर आह्वान गरेको थियो।  पहिलो पटक आयोजना गर्न लागिएको यो प्रतियोगितामा पहिलो श्रेणीका क्रिकेटरलाई १५ लाख रुपैयाँसम्म पारिश्रमिक दिने जनाइएको छ।

क्यानले नेपाल टी २० लिगलाई देशको एक मात्र आधिकारिक लिग बनाउने भन्दै अन्य फ्रेन्चाइज लिगलाई राष्ट्रिय मान्यता भने नदिने बताउँदै आएको छ। अन्य लिगलाई क्षेत्रीय लिगको मान्यता दिन भने सोच्न सकिने क्यानको धारणा रहेको छ। हालसम्म काठमाडौंमा एभरेस्ट प्रिमियर लिग, पोखरामा पोखरा प्रिमियर लिग र धनगढीमा धनगढी प्रिमियर लिग सञ्चालन हुँदै आएका थिए। तीन ओटै लिग क्यान निलम्बनको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलबाट अनुमति लिएर सञ्चालनमा ल्याएका थिए। अहिले भने क्यानको अनुमति दिएर मात्र अरु लिग सञ्चालन गर्न पाइने व्यवस्था छ।

एभरेस्ट प्रिमियर लिग भने आफूलाई मान्यता दिने पर्ने माग राख्दै आएको छ। क्यानबाट प्रतियोगिता सञ्चालन गर्न अनुमति नपाएपछि एभरेस्ट प्रिमियर लिगले सर्वोच्चमा दर्ता गरेको मुद्दा विचाराधीन रहेको छ । यस्तै बिना प्रतिस्पर्धा भारतीय कम्पनीलाई प्रतियोगिताको अधिकार दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ। 

क्यानका ६ जना केन्द्रीय सदस्यले पनि भारतीय कम्पनीसँग गरिएको सम्झौता ठिक नभएको भन्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई पत्राचार समेत गरिसकेका छन्।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *