स्कटल्यान्डसँग नेपालको लज्जास्पद पराजय

एजेन्सी । आईसीसी विश्व कप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपाल स्कटल्यान्डसँग पराजित भएकाे छ । आज सम्पन्न खेलमा घरेलु टोली स्कटल्यान्डले नेपाललार्इ आठ विकेटले पराजित गरेकाे हाे ।

नेपालले दिएको १ सय २९ रनकाे झिनो लक्ष्य स्कटल्यान्डले १९ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्यो । स्कटल्यान्डका लागि कलुम म्याकलिओडले ६४ रनकाे अर्धशतकीय पारी खेले । यस्तै किले काेटजेरले अविजित ४४ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले समान एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३५ ओभर ५ बलमा सबै विकेट गुमाएर जम्मा १ सय २८ रन मात्र बनाउन सक्यो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए । यस्तै कप्तान सन्दीप लामिछानेले २२, विनोद भण्डारीले १३, देव खनाल र रोहित पौडेलले समान १० बनाउन बाहेक बाँकी ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

स्कटल्यान्डका हम्जा ताहिरले चार, मार्क वाटले तीन, गाभिन मेइनले दुई र क्रिस्टाेफर म्याकब्राइटले एक विकेट लिए ।

यसअघिको खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले हराएको थियो । तर नेपाल नामिबियासँग पहिलो खेलमा ४० रन र दोस्रो खेलमा ६३ रनले पराजित भएको थियो । नेपालसँग पराजित स्कटल्यान्डले भने नामिबियालाई दुवै खेलमा हराएको थियो ।

नेपाल २० खेलमा १७ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । स्कटल्यान्ड २४ खेलमा ३४ अङ्कसहित दाेस्राे र नामिबिया १८ खेलमा १८ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *