एजेन्सी । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाली ब्याट्सम्यान स्कटल्याण्डका बलर सामु निरिह बनेका छन् । जितका लागि नेपालले जम्मा १ सय २९ रनको झिनो लक्ष्य दिएको छ । ग्लासगोस्थित टिटवुडमा टस हारेर पहिले ब्याटिङको मौका पाएको नेपालले ३५ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय २८ रन मात्र बनाउन सक्यो।
नेपालका लागि आसिफ शेखले ४०, कप्तान सन्दीप लामिछानेले २२, विनोद भण्डारी १३, रोहितकुमार पौडेल र देव खनाल समान १० रन बनाउन बााहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
वालिङमा स्कटल्याण्डका लागि हमजा ताहिरले सर्वाधिक ४ विकेट लिए । यस्तै मार्क वाटले ३ तथा गेभिन मेनले २ र क्रिस्टोफर म्याकब्राइडले १ विकेट लिए।
यसअघिको भेटमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।
यता, स्कटल्याण्ड भने नेपालविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । स्कटल्याण्ड नेपाललाई हराएर सिरिजको सुखद अन्त्य समेत गर्न चाहन्छ । सिरिज अन्तर्गत नै नेपालले नामिबियासँग भने दुबै खेलमा हार व्यहोरेको छ ।
पहिलो खेलमा नेपाल नामिबियासँग ४० र सिरिजको तेस्रो खेलमा ६३ रनले पराजित भएको थियो ।













