एजेन्सी । आईसीसी विश्वकप लिग-२ पुरुष क्रिकेट अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्ड विरुद्ध नेपाली बलरले घातक बलिङ गर्दा नेपालले १ सय ४५ रनको सामान्य लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङको मौका पाएको घरेलु टोली स्कटल्याण्ड ४२ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ४४ रनमा समेटियो ।
उसका लागि गेभिन मेनले ६५ रनको अविजित अर्धशतकीय पारी खेले । यस्तै मार्क वाटले १७, सफायान शरीफले १६ र कलुम म्याकलोइडले १३ रन बनाउन बाहेक बाँकी ब्याट्सम्यानले दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् ।
बलिङ तर्फ नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले उत्कृष्ट बलिङ गर्दै दुबै जनाले समान ३ विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछानेले २ तथा करण केसी र दिपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।
सिरिजको पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा रहेको छ ।













