काठमाण्डौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपालको पहिलो र एकमात्र आधिकारिक टी २० क्रिकेट लिग ‘नेपाल टी २० २०२२’ को पहिलो सिजनलाई स्वीकृति प्रदान गरेको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै आईसीसीले ‘नेपाल टी २० २०२२’ लार्इ स्वीकृति दिएकाे र फुकुवा समेत भइसकेकाले नेपाली क्रिकेटकाे थप विकास हुने जनाएकाे छ ।
लामो समयदेखि निलम्बनमा परेको क्यानलाई गत महिना मात्र आईसीसीले पूर्ण रूपमा फुकुवा गरेको थियो । नेपाली क्रिकेटको प्रवर्द्धन गर्न क्यानले पहिले देखि नेपाल टी २० लिगको सञ्चालन गर्ने तयारी गरिरहेको भए पनि निलम्बन को कारण त्यो पूरा भएको थिएन । तर निलम्बन फुकुवा भएसँगै आईसीसीले पनि ‘नेपाल टी २० लिग २०२२’ लाई स्वीकृति प्रदान गरेको छ ।
नेपाल टी २० लिगको पहिलो संस्करण सन् २०२२ काे २४ सेप्टेम्बर देखि २२ अक्टोबर सम्म काठमाडौंमा सञ्चालन गर्ने तयारी भइरहेको क्यानले बताएको छ । क्यानले आईसीसीले स्वीकृत प्रदान गर्नु एकदमै महत्त्वपूर्ण विकास भएकाे र नेपाल शीर्ष अन्तर्राष्ट्रिय टी २० क्रिकेट लिगको सूचीमा परेको जनाएकाे छ । साथै नेपाल टी २० लिग क्यानकाे सपनाको परियोजना रहेकाे जनाएकाे छ ।
उक्त लिगलाई बलियो बनाउन क्यानले सेभेनथ्री स्पोर्ट्स प्राइभेट लिमिटेडलाई व्यावसायिक साझेदारको रुपमा समेत भित्र्याएको छ ।














